एनपीएलको दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली खेल्ने
पुस ४, २०८१ बिहिबार
मनसुनको नगन्य प्रभाव मात्रै रहने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो वर्ष मनसुनको सुरुमै पानी पर्यो । मनाङ, मुस्ताङलाई पानी नपर्ने जिल्लाका रुपमा लिइन्छ । मनसुनी वर्षा मात्र हैन मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो । मनसुनको सुरुवातमै उच्च हिमाली क्षेत्रमा धेरै पानी परेको यो नेपालका लागि सम्भवतः पहिलो घटना हो । यसले हिमाली जिल्लामा क्षतिको जोखिम बढाएको छ । मनसुनको सुरुमै हिमाली क्षेत्रमा मनसुन पुग्नु र यसले पार्ने प्रभावका बारेमा साथी भोजेन्द्र बस्नेतले जलवायु तथा मौसम विज्ञ डा. ङमिन्द्र दाहालसँग कुराकानी गर्नुभएको छ ।
यस वर्ष मनसुन औसत समयमै सुरु भयो । मनसुनको सुरुवातमै पानी पनि पर्यो जुन स्वभाविक र हाम्रो क्षेत्रका लागि आवश्यक पनि हो । नेपाल भारत लगायतको क्षेत्रमा मनसुन भनेको बाँच्ने आधार नै हो । तर यस वर्ष नेपालमा मनसुन सिधै हिमालतिर उक्लियो, यो भने अस्वभाविक हो ।
हुन त केही वर्षदेखि हिमाली क्षेत्र तथा हिमाल जिल्लामा पनि मनसुन पुग्नसक्छ भन्ने अनुमान भएकै हो, तर यस वर्ष साँच्चै मनाङ, मुस्ताङ लगायतका ठाउँमा मनसुन पुग्यो । यो अस्वभाविक र सम्भवतः नेपालका लागि पहिलो घटना पनि हो । नेपालको मध्य पहाड, चुरे तथा तराई क्षेत्रमा केन्द्रित हुने मनसुन यस वर्ष सिधै माथितिर जाँदा हामीलाई पनि अनौठो लागेको छ ।
सामान्यतया मनसुन हिमाल पारी जाँदैन । मनाङ, मुस्ताङ सामान्यतया पानी पर्ने नभइ हिउँ पर्ने क्षेत्र हुन् । ती ठाउँमा कहिलेकाहीँ मनसुनको वर्षा भएपनि त्यो निकै कम हुन्थ्यो । तर यो वर्ष त्यहाँ एक्कासी पानी पर्यो । पानी नपर्ने भएपछि त्यहाँका घर, बाटोघाटो, पुलहरु पनि त्यही किसिमका बनाइएका छन् । त्यहाँको भौगोलिक अवस्थिति पनि ठूलो वर्षा धान्न सक्ने खालको छैन । यसैले यस वर्ष त्यहाँ देखिएको विपद् पूर्वानुमान् गरिए भन्दा बढी भएकै हो । हिमालतिर मनसुन पुग्छ भन्ने संकेत देखिएको भएपनि अहिले नै यस्तो वर्षाको कल्पना गरिएको थिएन ।
मनसुनको चलायमानमा अरु विभिन्न कुराले पनि असर गर्छन् । यस पटक हिमालपारी मनसुन पुगेको घटनालाई जलवायु परिवर्तनकै असर हो भन्नलाई संकोच मान्न पर्दैन । जलवायु परिवर्तनले कस्तो असर पार्छ भन्ने कुरा नेपालकै हिमालय क्षेत्रमा भएका अध्ययनहरुले भनिरहेकै कुरा भइरहेको छ । अध्ययनहरुले जे हुन्छ भनेको छ त्यही भइरहेको छ ।
तापक्रम बढेपछि समुन्द्रबाट बाफ बढी निस्कन्छ । बढी बादल बनेपछि धेरै वर्षा हुन्छ । हाम्रो मनसुनमा पहिलोको भन्दा पानी बढिरहेको छ । अहिले तापक्रम बढेकाले मनसुनको बादलले पहिलेको भन्दा बढी उचाई लियो । तलको बादल माथिको उचाईमा पुगेकैले हिमालपारी पुगेको हो । यो अबको मनसुन हिमालतिर जान्छ भन्ने संकेत हो । यसअघि अनुमान थियो अहिले व्यवहारिक पुष्टि हो ।
स्वभाविक रुपमा हिमाली क्षेत्र जोखिममा पर्छन् । अघि पनि चर्चा भयो त्यहाँका संरचनाहरु धेरै पानी थेग्ने खालका बनाइएका छैनन् । त्यहाँको भूगोल पनि बढी पानी तथा भेल थेग्न सक्ने खालको छैन । माटोका थुप्रोहरु तथा कमला पहाडहरु धेरै छन् । पानी बढी भएपछि ती क्षेत्र बग्न थाल्छन् तथा त्यहाँ पहिरो जान्छ । त्यसले त्यहाँ समस्या ल्याउने भयो । यस्तै अहिलेका घर तथा संरचनाहरुले नथेगेपछि नयाँ संरचना बनाउनुपर्छ । त्यहाँको संस्कार–संस्कृति लगायतका धेरै कुरामा नकरात्मक असर पर्छ । यस्तै हिमतालहरु फुट्ने जोखिम, हिमनदीको आकार बृद्धि वा हिमालमा हिउँ धेरै पग्लिने जस्ता समस्या पनि आउन सक्छन् । यसैले हिमालतिर मनसुन जानु भनेको त्यहाँको प्रकृतिदेखि जनजीवन सम्मलाई असर पार्ने जोखिम बढ्नु हो ।
यसको असर धेरै पर्छ भन्ने कुरा त यसपाली सिन्धुपाल्चोकमा देखिएको छ । मेलम्चीमा बाढी आउनुको कारण पहिरो रहेको र त्यो पहिरो हिमाली क्षेत्रमा गएको प्रारम्भिक विवरण आएका छन् । मानवबस्ती नभएको ठाउँमा गएको पहिरोले पहिरो गएको ठाउँमा प्रकृतिमा क्षति पुर्यायो भने तल्लो क्षेत्रमा जनधनको क्षति गरेको छ । माथि जहाँ पहिरो गयो त्यो भन्दा बढी हेलम्बु, मेलम्ची लगायतका ठाउँमा देखिएको क्षतिलाई हेरेर पनि हामी हिमाली क्षेत्रमा संकट आउनु भनेको पहाड तथा तराइमा समस्या हो भनेर बुझ्न सक्छौं ।
माथितिर पहिरो वा बाढी गएपछि नदी हुँदै तलतिर आउँछ । त्यसले तटीय क्षेत्रमा जनधनको क्षति, सडक पुल, जलविद्युत लगायतका भौतिक संरचनामा क्षति जस्ता तत्कालीन समस्याहरु आउँछन् भने हिउँ कम भएर वातावरणमा कालान्तरमा पर्ने खालका असरहरु पनि हुन्छन् । त्यसैले हिमालतिर मनसुन उक्लनु भनेको केवल हिमाली क्षेत्रको समस्या हैन यो सबैतिरका लागि समस्या हो ।
मनसुनको समयमा समस्या जता पनि पर्न सक्छ । सचेत सबैतिर हुनुपर्छ । अहिले मौसमको पूर्वानुमान मिलिरहेको छ । त्यही अनुसार सुरक्षाका उपायहरु अपनाउनुपर्छ । आफू बसेको क्षेत्र कतिको सम्भावित जोखिमको क्षेत्र हो भन्ने कुरा ख्याल गर्नुपर्छ । यस्तै अब हिमाली क्षेत्रहरुमा समेत ठूलो पानी पर्ने सम्भावना बढेकोले तल्लो क्षेत्रमा पानी नपरेको बेलामा पनि माथिल्लो क्षेत्रबाट बाढी आउँछ कि भन्ने कुरामा चनाखो हुनुपर्छ । यसको लागि नदी तटीय क्षेत्रहरुमा चेतावनी वा जानकारी दिने प्रणाली स्थापना गर्नुपर्छ । यस्तै महत्वपूर्ण कुरा पालिकाहरुले आफ्नो ठाउँको अवस्थाको बारेमा अध्ययन गरेर यथार्थ कुरा सबैलाई जानकारी गराउनुपर्छ । सम्भावित विपदका घटना हुन सक्ने ठाउँका बस्ती सार्नेदेखि उद्धार, राहत लगायतका विषयमा पनि पालिकाहरु तयारी अवस्थामा रहनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।