‘नाफा कमाउन हाेइन, कम्पनीकाे घाटा कम गर्न पेट्राेलियम पदार्थकाे मूल्य बढाइएकाे हाे’

 असार ११, २०७८ शुक्रबार १५:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ । न्युज एजेन्सी नेपालसँग शुक्रवार कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रूपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

अहिले आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उहाँले नाफा कमाउने उद्देश्यका लागि नभइ कम्पनीको नोक्सानीलाई घटाउनका लागि मूल्यवृद्धि गरिएको प्रष्ट्याउनुभयो । आउँदा दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उहाँको भनाइ छ ।  

प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो, ‘तेल उत्पादनको कटौती आफ्नो ठाउँमा छ । लगानीकर्ताहरू क्रुड र डलरमा केन्द्रित भएको अवस्था छ । हामीले लागत नै महँगोमा किनिसकेपछि कम्पनीले त नाफै नगरे पनि नोक्सान त सहनु भएन नि भन्ने हिसाबले नोक्सानीलाई कम गर्दै जाने रणनीति अपनाएका हाैँ । यसमा नाफा कमाउने त कुनै उद्देश्य छैन । अरू नोक्सानीमा नजाओस् भन्ने ध्यानमा राख्दै कार्यविधिको अधिकारको पनि न्यूनतम भन्दा न्यूनतम प्रयोग गरेर मूल्य बढाएको स्थिति हो ।’

आयल निगमले यही असार ९ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टीतेलको मूल्य दुई रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ । 

त्यसैगरी आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ बिक्री मूल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ । यति वृद्धि गर्दा पनि आयल निकै अझै घाटामा रहने प्रबन्ध निर्देशक पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया