अहिले राष्ट्रपतिलाई चिथाेर्ने 'कम्पिटिशन' चलिरहेकाे छ : प्रधानमन्त्री

 असार ११, २०७८ शुक्रबार १८:३४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताउनुभयो । गणतन्त्रप्रतिको गैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गर्नुभयो ।  

बालुवाटारमा शुक्रवार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवम् प्रकाशित पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै  उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिशन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिशन चलेको छ । हिजो पनि केही भूतपूर्वहरूको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्म उहाँहरू पुग्नुभयो ।’ 

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दै राजनीतिलाई सही ढङ्गले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाह्य हस्तक्षेप भन्ने कुरा हुन सक्छ । हुने गरेको छ । राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, पार्लियामेन्टमा पनि राजनीतिको टुङ्गो नगर्ने, राजनीति अन्तै लगेर टुङ्गो गर्ने । फैसला प्रधानमन्त्री छान्ने ठाउँ पनि अदालतलाई बनाउन खोजेपछि । राजनीतिक विषयहरूको टुङ्गो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि । अदालतले त संविधान र कानुनको कुरा गर्ने हो । राजनीतिक होइन ।’ 

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुने र आन्तरिक नीतिको प्रतिबिम्ब नै अन्तर्राष्ट्रिय मञ्चहरूमा देखिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुन्छ । हाम्रो सामाजिक न्याय र समानतासहितको आन्तरिक नीति, त्यसको प्रतिबिम्ब अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि त्यस्तै हुन्छ । जुन कुराको दृष्टान्त प्रदीप ज्ञवाली जीको पुस्तिका हो । नेपालको भू–भाग समेटिएर छापिएको नक्सा जसलाई आजकल प्रचलित भाषामा चुच्चे नक्सा भन्ने गरेको छ । अब चुच्चे नक्सालाई कसैले पनि मेटाउन सक्दैन । नेपालले फरेन पोलिसीलाई चुच्चे नक्सा जस्तै आकार दिएको छ । त्यसलाई पनि मेटाउन सक्दैन । एउटा लयमा फरेन पोलिसी अघि बढिसकेको छ । यसलाई कसैले मेट्न सक्दैन ।’ 

उहाँले नेपालको राजनीतिमा भ्रम फैलाउन खोजेको भन्दै पार्लियामेन्टमा खुर्सानीको धुलो बोकेर जाने र पार्लियामेन्टकाे लडाइँ माइकले हानेर गर्नेहरूसँगको लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै जित्ने विश्वास दिलाउनुभयो । ओलीले भन्नुभयो, ‘राजनीतिमा भ्रम फिँजाउन खोजिएको छ । त्यसकारण पार्लियामेन्टमा खुर्सानीको धुलो बोकेर जानेहरू, पार्लियामेन्टकाे लडाइँ माइकले हानेर गर्नेहरूसँगको यो लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै हामी जित्न सक्छौँ भन्ने मैले विश्वास लिएको छु । त्यसकारण चिन्ता गर्नु पर्दैन भन्ने पनि म साथीहरूलाई आश्वस्त पार्न चाहन्छु ।’   

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया