'ओलीबा'को 'स्मार्ट' सरकार र भ्यागुताका कथा !

 असार १२, २०७८ शनिबार ९:५७:३७ | मिलन तिमिल्सिना
unn.prixa.net

अघिल्तिर बसेका छरछरीलाई मख्ख पार्दै ओली बाले भ्यागुताको आमा र बच्चीको कथा सुनाए । 

‘बाटोमा हिँड्दै गर्दा भ्यागुताको बच्चीले गाईको सानो बाच्छो देखिछे । आफूभन्दा पनि ठूलो, आफ्नो आमा बाभन्दा पनि ठूलो, अरु भ्यागुताभन्दा पनि ठूलो ! आफूले अहिलेसम्म देखेकोभन्दा ठूलो जनावर देख्दा उ चकित परिछे। बेलुकी फर्किएपछि भ्यागुताको बच्चीले आमासँग बाटोमा देखेको बाच्छोबारे बेलिविस्तार लगाइछ ।

छोरीको कुरा सुनेर आमा भ्यागुतो अचम्ममा परि। आफूभन्दा ठूलो अरु पनि हुन्छ र भन्ने उसलाई लाग्यो । त्यसपछि भ्यागुताको आमाले आफ्नो पेट देखाएर सोधिछ : कत्रो थियो, यत्रो ?

भ्यागुताको बच्चीले त्योभन्दा ठूलो भनिछ ।

फेरि आमाले पेट फुलाएर सोधिछ : यत्रो ?

बच्चीले त्योभन्दा ठूलो भनेपछि फेरि आमाले अझै पेट फुलाएर यत्रो भनेर सोधिछ । बच्चीले अझै त्योभन्दा ठूलो भनेपछि आमा भ्यागुताले अझै पेट फुलाउँदा पेट फुटेर मरिछ ।'

त्यसैले मजस्तो कोही छैन, म जत्रो अरु हैन भनेर घमण्ड गर्दा भ्यागुताको आमाको जस्तो हालत हुन सक्छ भनेर बाले आफ्ना प्रतिस्पर्धी नेताहरुलाई भ्यागुतासँग तुलना गरे । उखान, तुक्का मिसाएर भाषण र कुरा गर्न सिपालु बाको कथा सुनेर छरछरीले पररर ताली र सुइय सिट्ठी बजाए । 

बाको कुरामा समर्थन जनाउँदै बजेको ताली र सिट्ठीको धुनलाई समेत ओझेलमा पार्ने गरी सर्वोच्चबाट काठे हथौडाको अर्को ठूलो आवाज सुनियो । सर्वोच्चबाट एकपछि अर्को प्रहार सहँदै आएका बाले ठूलो आवाज आएतिर मुन्टो फर्काए । सर्वोच्चबाट आएको आवाज त पहिलेकोभन्दा पनि चर्को र डरलाग्दो रहेछ । हेर्दाहेर्दै कुर्ता र धोती मिलाउँदै हेलिकप्टरमा उड्दै गरेका, झण्डा हल्लाउँदै गाडीमा गुड्दै गरेका, मन्त्री निवास र कार्यालयमा मख्ख पर्दै कुद्दै गरेका मन्त्रीहरु एकैपटक गर्ल्यामगुर्लुम ढले।

ओलीबाले भ्यागुताकी आमालाई सम्झिए । आफ्नो पेट छामे । पेट त ठिकठाक छ । तर टाउकोमा फुरौलाजत्रो टुटुल्को । टुटुल्को छाम्दै कोठाभित्र पसे । एक पटक ऐना हेरे । टाउकोको फुरौला छोपिने गरी टोपी मिलाउन खोजे। तर यतापट्टिको छोप्दा उता देखिने, उतापट्टि छोप्दा यता देखिने । टोपीले टुटुल्को छोपेन । आ जेसुकै होस्, देखिए पनि देखियोस् भनेर नाकमा हेरे । नाक पहिलेकोभन्दा सानो हुन थालेछ । आफ्नै अनुहार हेर्दा के-के नमिलेजस्तो लाग्यो । तै पनि ऐनामा अरु देखिँदैनन् । जस्तो भए पनि आफ्नै अनुहार मात्रै देखिन्छ । आफैँ मात्र देखिन्छ । 

ऐनामा आफूलाई मात्र देख्दा बालाई लाग्यो–अदालतले ठिकै गर्यो, यो देशमा अरुको कामै छैन । अरुले गर्नै सक्दैनन् । मबाहेक अरु कोही छैनन् र होइनन् भन्दा कसैले पत्याएका थिएनन्, तर अहिले अदालतले तँ एक्लै काफी भन्ने फैसला गर्यो । अदालतले भनेको पत्याउँछन् भनेर बा मख्ख परे, ऐनामा जुँगा झन् काला भएको देखेपछि बालाई लाग्यो राजनीतिक जवानी त झन् झन् उकालो लाग्दैछ । बा मखलेल भएर मुसुक्क हाँसे ।  

हथौडाले हान्दा लागेको टुटुल्कोलाई कपालले हल्का भए पनि छोपे जस्तो लाग्यो । टुटुल्को बिर्सेर बाले काला हुँदै गएका जुँगामा ताउ लगाए । खुम्चन लागेको दौराको फेर र सुरुवालको छेउ मिलाए । मनमनै लाग्यो–बाँकी चार जना मन्त्री पनि बढी भए । अदालतले यी चार जना पनि काम छैन भनेर हटाइदिए अझ स्मार्ट सरकार बन्थ्यो । कोही नहुँदा पनि मन्त्रालय चल्छ । एक्लैले चलाउन सकिन्छ । 

प्रधानमन्त्री कार्यालयबाहेक जम्मा २१ वटा मन्त्रालय न हुन् । आफ्नो कार्यालय आफ्नै भयो, नगए पनि बालुवाटारमै बसेर चलिरहेको छ । बाँकी २१ वटा मन्त्रालयमा जोर–बिजोर या बारअनुसार तालिका बनाएर जान सकिन्छ । नगए पनि फरक पर्दैन । घरमै बसेको बेला गृह मन्त्रालय सम्झे हुन्छ । आफ्नै बलबुताले जोगाएको कुर्सीमा बसेर रक्षा मन्त्रालयमा छु भने हुन्छ । गाडी चढ्दा यातायात मन्त्रालय, सामान किन्दा आपूर्ति मन्त्रालय, बिहान ब्याडमिन्टन खेल्दा खेलकूद मन्त्रालय, वीरबल र अकबरको कथाका किताब पढ्दा शिक्षा मन्त्रालय, मोबाइल र फेसबुक चलाउँदा सूचना र प्रविधि मन्त्रालय, औषधि खाँदा स्वास्थ्य मन्त्रालय....।आफैँले नियमित गर्दै गरेको कामलाई नै मिलाएर सबै मन्त्रालयसँग जोड्न मिल्ने । सबै मन्त्रालय आफैँले चलाएको छु भनेर मख्ख पर्न पाइने !

आखिर मन्त्री हुँदा र नहुँदा पनि मन्त्रालय उसैगरी चलिहाल्छ, चलिरहेको छ । मन्त्री हुँदा पनि हुने काम त्यही हो, नहुँदा पनि हुने काम त्यही हो । गृहमा मन्त्री बस्दैमा बाढी पीडितको उतिखेरै उद्धार हुने हो र ! स्वास्थ्यको कुर्सीमा मन्त्री बस्दैमा कोरोनाको खोप आउने होइन । जसरी हो चल्छ, चलिरहेकै छ । त्यसमाथि देश नै पशुपतिनाथले चलाएका छन् । किन चाहियो मन्त्री ? एक्लैले धानिन्छ । एक्लैले गरिन्छ । पाँच जना हुँदा अलिअलि स्मार्ट सरकार । एक्लै हुँदा झन् स्मार्ट सरकार ।

बाले स्मार्ट लकडाउन, स्मार्ट सहर, स्मार्ट शौचालय, स्मार्ट सरकार सम्झे । पशुपतिनाथ सम्झे । अयोध्या सम्झे । चुनाव सम्झे । पार्टी एकता सम्झे । दुई तिहाई सम्झे । दुई तिहाईको बलियो सरकार सम्झे । फेरि पार्टी फुट, गुट–उपगुट, आफ्नै ढङ्गले टेबलमा बजेको हथौडो र हथौडाले लागेको तालु र निधारको टुटुल्को सम्झे । भ्यागुताको कथा सम्झे । अन्त्यमा भ्यागुता नै जोडिएको अर्को उखान सम्झे :भ्यागुता जति उफ्रिए पनि कान्ला मुनिको कान्ला मुनि !

अन्तिम अपडेट: बैशाख ४, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • दीपक

    June 26, 2021, 10:16 a.m.

    समय सापेक्ष र अति घट लाग्दो छ है।

  •  0 Reply

तपाईको प्रतिक्रिया