राष्ट्रिय कविता महोत्सवमा उत्कृष्ट कविताहरु

 असार १२, २०७८ शनिबार १०:४०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय कविता महोत्सव अर्थात् कविहरुको राष्ट्रिय उत्सव । आफ्ना कविताहरुलाई मूल्याङ्कनको कसीमा जाँच गर्ने अवसर । सयौं कविहरु एउटै ठाउँमा उभिएर कविता वाचन गर्ने र अर्काका कविता श्रवण गर्ने थलो । त्यसो त एउटा कविताको अर्को कवितासँग कुनै प्रतिस्पर्धा हुँदैन ।  हरेक कविता आफैँमा उत्कृष्ट हुन्छन् ।

हरेक कविताको आ–आफ्नै भाव र रस हुन्छ ।  हरेक फूलमा आफ्नै रङ्ग र बास्ना भएजस्तै कविताको आफ्नै विशेषता र गुण हुन्छ । सबै फूल  मनमोहक भए पनि कुनै फूल  टाढैबाट मनलाई तान्न सक्ने गुण बोकेको भने जरुर हुन्छ र कविताले त्यस्तै गुण बोकेको हुन्छ । 

राष्ट्रिय कविता महोत्सव २०७८ मा प्रस्तुत भएका कविताहरुमध्ये उत्कृष्ट तीन भित्र पर्न सफल कविताहरु :  

भोजपुरकी कवि कविता राईको प्रथम भएको कविता :

शीर्षक: देशको नक्सा

म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।
खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।

अनायास करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिञ्जेल किच्छु/टाल्छु
र मेट्छु धाँजाहरू !

विषाक्त हावा बोकीआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !
ओ ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन,
भूगोलका यीनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ !

छामिहेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा ।

धादिङकी कवि अमृता स्मृतिको दोस्रो भएको कविता :

शीर्षक: डढेलोपछि पनि वसन्त आउँछ

हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे
मगमगाउँथे हार्दिक भावहरू
झमझमाउँथे प्रेयसीका पाउजु
र घिस्रिरहन्थ्यो बुढो लौरी
आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी
घन्किरहन्थ्यो आदिवासी धुन
ती सबै–सबै कहाँ गए ?
विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रिएको
पिँढीको गुन्द्री बिर्सिएर
कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ?
भोलि यही बाटोमा भेटिएला/नभेटिएला
आमाका पैतालाका डोबहरू !

न कुनै आहत
न कुनै पदचाप
समय आफैँ मलामी आफैँ मुर्दा बनेर लम्पसार छ
ए ! छिरिङ
ए ! खान
चित्र प्रदर्शन गर्न
किलोको आड चाहिए जस्तै
देशलाई चाहिएको छ
हाम्रा पाखुराहरूको आड
हाम्रा चेतनाहरूको आड
मौरीहरू मुर्झाउन नखोज भर्नै बाँकी छ
यो देशको घारमा महको चमक !

झुल्किन्छ–झुल्किन्छ
हामीले जीवनभर खोजिरहेको उज्यालो घाम
पर्दा बनेको यो कैदी समयमा पनि
तराई, भावर, चुरे र पहाडमा
महाभारत, हिमाल र भोटमा
कुन–कुन जातका फुल फक्रिसके होलान् ?
जङ्गलमा डढेलोपछि पनि रुख/विरुवा पलाउँछन् ।
जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ ।

ताप्लेजुङकी कवि  सविता बरालको तेस्रो भएको कविता

शीर्षक: आमा म आएँ अब

हाँस्छन् शैल, मनुष्य पल्लवित छन्,बोल्छन् शिलागौरव
इन्द्रेनीमय जात, धर्म, थरले छर्छन् सुधा सौरभ
यस्तो सृष्टिकला अमूल्य निधिको बोकी महासागर
थोपो खोज्न कतै म जान्नँ जननी आएँ म आएँ अब ।।
मीठो स्वागत बुद्धको सयरमा पस्कन्छ गिर्जाघर
मेरो वैदिक ज्ञान तर्छ जगमा विज्ञानको सागर
रोदी, मादल, धाननाच, जितिया बन्धुत्वका रक्षक
गाऔँ गान ‘सयौँ थुँगा‘’ सँगसँगै आमा म आएँ अब ।।

टोपी, बक्खु तयार छन्, सडकमा नाङ्गा नरोउन् कतै
किंकर्तव्यविमूढ बन्न नपरोस् भोकाहरूले अझै
यार्चागुम्बु, चिराइतो कलुषता निर्मूल पार्दै सब
बाँच्ने विश्व बचाउने रहरले आऊ, म आएँ अब ।।
मेरा पाउ समृद्ध छन्, शिर उँचो, छाती खुला निर्मल
सीमामा बलभद्रका कलमले गर्दैछु हस्ताक्षर
साझा लक्ष्य विकासको मुलुकमा मेची र कालीसँग
नौलाद्वार सुशान्तिका, प्रगतिका खोलेर आएँ अब ।।
बोकीमाथ म विश्वसाथ नउठे के काम यो शैलको
कोसीझैँ अविश्रान्त बग्न नसके के अर्थ यो सैरको
मेरा शैलशिखा, सुरम्य सरिता साँचेर राखूँ सब
आफ्नै आँगनमानिचोर्न पसिना आमा म आएँ अब ।।

तेस्रो नै भएको बर्दियाका कवि निरञ्जना कुमारी  चन्दको कविता

शीर्षक: युगीन प्रतिध्वनि

अणु र परमाणुका मुटु थर्काउने हाँकहरूसँगै
भष्मासुर र भाइरसका पटकपटकका विश्वयुद्धहरू
र सिमानाका रक्तरञ्जित कथाहरूले निम्त्याएका
युगीन त्रासदीहरूमा
छातीमा अड्याएर जीवन
पिइदिऊँ घामका लप्काहरू
छाइदिऊँ शीतलता
सँगालेर जूनका टुक्राहरू
लाइदिऊँ माला
उनेर गुराँसका थुँगाहरू।

विशाल हृदयहरूको खानी
विश्वभूगोलको एक टुक्रा मेरो देश
धावा दिएर गाउँछ गीत वीरताको
र उचालेर चन्द्रसूर्य
म लगाउँछु सिँदुर
भुइँको एक चिम्टी माटो उठाइ
गाउँछु गीत सगरमाथा उचाइको ।

छोडेर विध्वंसका अस्त्रहरू
आत्मज्ञान विस्फोट गराइ कोहिनुर उज्यालामा
गरिदिऊँ बीजारोपण शान्तिका सम्बोधी आँखाहरूको
विश्व व्रम्ह्याण्डभर गुन्जाएर बुद्धका मन्त्रध्वनिहरू
उडाइदिऊँ सेता परेवाका जोडीहरू
रोग भोग शोक अनेक सन्नाटाहरू मेटाएर
छरिदिऊँ मानवताका सम्यक् बीजहरू।

आऊ श्रमका पुजारीहरू!
पौरखी जिजीविषा फुलाएर
फिजाइदिऊँ दायित्वका नवरङ्ग आकाशभरि
समृद्धिका आशातीत रङ्गहरू इन्द्रेणीमा
पोतिदिऊँ धर्तीमा झिकाएर
चिहानबाटै जुरमुराएर
बिहानबाटै ब्युँझिएर
रोपिदिऊँ समानताका सुन्दर बोटहरू।

जीवनका अप्ठ्यारा आँधीहुरीहरूमा
मैदानबाट दौडिँदै चुचुराबाट गर्जिँदै
खेलिदिऊँ पौँठेजोरी सतिसाल भएर।

उठ ए झुपडीका ताता मान्छेहरू!
सल्काइदिऊँ चिराक मूच्र्छना जगाएर
जाग ए किनारीकृत निन्याउरा मान्छेहरू!
बुलन्द गराइदिऊँ दबाइएका आवाज
पुरिदिऊँ गहिरा खाडलहरू ।

नुवाकोटका कवि प्रकाश सिलवालको तेस्राे भएको कविता 

शीर्षक: बोधिसत्व खोप

कुनै जादुगरले
कागजका पानाहरूलाई
चपाइ चपाइ स्वाट्ट निलेर
ह्वालह्वाल्ती पानी निकाले झैँ
किन चटक हेर्न
विवश छन्
स्वयम्भूका आँखाहरू ?

घरी कर्ममौरीहरुलाई
डकैतीले झैँ घेर्न खोज्छ
घरी आफैंलाई
जिउँदै जलाएको सपना देख्छ
र आफ्नै मलामीको जुलुसलाई
घण्टौँ कर्कश सम्बोधन गर्छ !

यो कस्तो सङ्क्रमण हो
जसले,
लालीगुराँसको सुगन्धमा बाँचिरहेको
डाँफे चरीको
श्वासथैलीलाई
चलमलाउन दिँदैन
प्राणवायु प्रवाह हुने
कोषिकापत्रलाई नै
कुनै समय नेपालको मानचित्रबाट
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई
अलप गराइए झैँ
क्षणभरमै अलप गराइदिनसक्छ
रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई
चैतमासको खहरे झैँ सुकाइदिएर
आनन्द लिन चाहन्छ
अशान्ति र पृथकतावादका सूत्रधारहरुलाई
रानीमहलका जोडीले झैँ
असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !

यतिबेला म
आधुनिक धन्वन्तरी भएर
समृद्धिको धरहरालाई सम्झिएर
एउटा त्यस्तो मेसिन बनाउँदैछु
जसले तुरुन्तै पत्ता लगाउनेछ–
यो भयानक भाइरसका कारण र असरहरु
प्रिय बुद्धभूमिविरुद्धका
घातक कुण्ठा
र तुच्छ स्वार्थका बीजहरु‘

सुन !
म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
जसले पहिलो मात्रामै
परास्त गर्नेछ–
सगरमाथा हाँस्दा रमाउन नसक्ने
विकृत स्नायुग्रन्थीका तमाम सङ्क्रमणहरु !

फोटो साभार : रमेश पौडेल

अन्तिम अपडेट: असोज २६, २०७८

तपाईको प्रतिक्रिया