कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन, यसै वर्षभित्र डीपीआरको काम सक्ने लक्ष्य

 असार १२, २०७८ शनिबार १४:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन भएको छ । बुटवलमा स्थापना भएको कार्यालयको आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभयो ।

वि.स. २०६५ सालमा आफू जलस्रोत मन्त्री हुँदा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सोच बनाएको र यसलाई कतिपयले विश्वास समेत नगरेको उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले अब योजना अगाडि बढेको बताउनुभयो । कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाइ पुर्याउने तथा एक सय २६ मेगावाट विद्युत निकाल्ने परियोजनाको लक्ष्य छ ।

आयोजनाको प्रारम्भिक अध्ययन सकेर अहिले विस्तृत परियोजना प्रतिवेदनको काम शुरु भएको छ । बुटवलमा कार्यालय स्थापनासँगै अब यो वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ । कार्यालय स्थापनाको मुख्य उदेश्य नै परियोजनाको डीपीआर सम्पन्न गर्ने रहेको आयोजना प्रमुख सन्तोष कैनीले बताउनुभयो । अर्को वर्षदेखि निर्माणको काम थाल्ने पनि उहाँले बताउनुभयो ।

रुपन्देहीका बुटवल, भैरहवासहितका शहरमा जनघनत्व बढ्दै जाँदा सुक्दै गएको तिनाउ नदीमा पानीको पुनःसञ्चितीकरणका लागि उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको छ । यो परियोजना सम्पन्न भएपछि रुपन्देही र कपिलवस्तुको एक लाख हेक्टर जमिनमा सिँचाइको सुविधा पुग्ने र विद्युतको उत्पादनसमेत बढ्ने इञ्जिनीयर खेटराज दाहालले बताउनुभयो । तर प्राकृतिक रुपमा बगिरहेको नदी डाइभर्सन गर्दा त्यसले ठूलो वातावरणीय चुनौती ल्याउने भन्दै माथिल्लो तटीय क्षेत्रका स्थानीयले आयोजनाको विरोध गर्दै आएका छन् ।

अर्थमन्त्री पौडेलले कालीगण्डकी नदीको सभ्यता र यसको वातावरणीय अध्ययन गर्दै माथिल्लो तटीय क्षेत्रका नागरिकलाई चित्त बुझाएर मात्र आयोजनाको काम अघि बढ्ने बताउनुभएको छ । कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजना राष्ट्रिय सिँचाइ गुरुयोजनाका ११ वटा अन्तरजलाधार स्थानान्तरणका आयोजना मध्येको एउटा परियोजना हो ।

गुरुयोजना अनुसार कालीगण्डकीको पानीलाई २७ र ७ किलोमिटरका दुई वटा सुरूङमार्फत तिनाउ नदीमा खसालिनेछ । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ दोभानमा पानी खसाल्ने योजना छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया