‘हाम्राे लडाइँ केपी ओली विरुद्ध हाेइन, केपी ओली प्रवृत्ति विरुद्ध हाे’ : माधव नेपाल

 असार १२, २०७८ शनिबार १८:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुकाे लडाइँ केपी ओली विरुद्ध नभएर केपी ओली प्रवृत्ति विरुद्ध भएकाे बताउनुभएकाे छ । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताउनुभएको हो ।

एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उहाँले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिनुभयो । आफूले विगतमा पार्टी भित्र समस्या देखिने वित्तिकै जिम्मेवारीबाट आफू मुक्त भएको स्मरण गर्दै प्रधानमन्त्री ओली भने सत्तामोहमा लिप्त हुनुभएको टिप्पणी गर्नुभयो ।

“हाम्रो लडाइँ केपी ओली व्यक्ति विरुद्धको लडाइँ होइन, केपी ओली प्रवृत्ति विरुद्धको लडाइँ हो । जब सत्ता, शक्ति र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाहे हुन्छ । केपी ओली जीमा त्यही सत्ताको, शक्तिको र पैसाको मात लागेको छ" उहाँले भन्नुभयो, "तानाशाहहरु डेमोक्रेटिक सिस्टमबाट पनि जन्मिदा रहेछन् । हाम्रो देशमा पनि केपी ओलीको रुपमा नयाँ चरित्र हामीले पाएका छौँ ।"

प्रधानमन्त्री ओलीले विगतमा पनि आफू, पुष्पकमल र वामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसंग उल्लेख गर्दै उहाँले अब भने कुनै पनि किसिमले विचलित नहुने स्पष्ट पार्नुभयो । केपी ओलीको धेरैपटकको धोका र पटक पटकको चालबाजीबाट आफै हैरान भएको उहाँले बताउनुभयो ।

उहाँले आफू कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेकाले आफूले गठबन्धनलाई धोका नदिने पनि स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “माधव नेपाललाई प्रधानमन्त्री आउँछ भन्ने होइन, आइसक्यो तर माधव नेपाल धोका दिने मान्छे होइन । प्रस्ताव फिर्ता गर्ने । कुनै पनि हालतमा यो प्रश्न छैन । ”

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया