माथिल्लो तामाकोशीको बिजुली राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम आजदेखि

 असार १३, २०७८ आइतबार ७:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि माथिल्लो तामाकाेशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम सुरु हुँदैछ । राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम १९ गते शनिवारसम्म लाग्ने र त्यसका लागि एक हप्ता खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

एक हप्तासम्म प्रणालीमा विद्युत नपुग्ने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरुको विद्युत बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ । यस्तै प्राधिकरणले यो अवधिमा कुलेखानी जलाशयको पानी प्रयोग गरेर जति सक्दो छिटो विद्युत कटौतीको समय कम गर्ने प्रयास गरिने जनाएको छ । 

आयोजनाको सुरुङ, जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ । वैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत उत्पादन सुरु हुने अनुमान गरिए पनि केही ढिलो गरेर व्यवसायिक उत्पादन गर्न लागिएको हो । अब कुनै पनि समस्या नरहेको आयोजनाले जनाएको छ । 

४ सय ५६ मेगावाट क्षमताका ६ वटा युनिटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । 

अहिले पनि केही काम भइरहेको र जुनसुकै बेला परीक्षण हुन सक्ने भएकाले सतर्कता र सुरक्षाको लागि सूचना गरिएको उहाँले बताउनुभयो । तामाकाेशीको विद्युत यसअघि सिधै ढल्केबर सबस्टेशनमा जोड्ने तयारी भए पनि अब खिम्तीमा जोडेर त्यहाँबाट राष्ट्रिय प्रशारण लाइनमा जानेछ । 

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । आयोजना निर्माण सुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । 

सुरुवाती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै  ८० अर्ब रुपैयाँको हाराहारी पुगेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया