बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनल : न्युरोड टिम (एनआरटी) ...
माघ २४, २०८१ बिहिबार
कोरोना महामारी सुरु भएपछि नेपालमा वैकल्पिक सिकाइको रुपमा अनलाइन माध्यमबाट पढाइ सञ्चालन हुन थाल्यो । कोरोना महामारी सुरु नहुँदाको समयमा समेत विश्वका केही देशहरुले ठूला कक्षाका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरेका थिए । प्रभावकारी नै थियो । तर साना कक्षाका बालबालिकाका लागि भने अनलाइन माध्यमबाट, पढाइको प्रयोग, खासै हुन सकेको थिएन ।
कोरोना भाइरस सङ्क्रमणका कारण गएको वर्ष जस्तै यो वर्ष पनि सहरी क्षेत्रका धेरैजसो विद्यालयहरुले अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरिरहेका छन् । तयारी बिना नै अनलाइन कक्षाहरु सञ्चालन गरिए । अभिभावक, शिक्षक र विद्यार्थी सुरुको अवस्थामा अन्योलमै थिए । तयारी विना नै अनलाइन माध्यमबाट सिकाइलाई अगाडि बढाउँदा केही समस्याहरु देखिएका हुन् ।
अभिभावकले सहजीकरण गरिदिने हो भने खासै समस्या आउँदैन । कोरोनाका कारण स्कुल बन्द भएर पठनपाठन ठप्प भएको अवस्थामा अनलाइन माध्यमबाट पढाउनु अहिलेको बाध्यात्मक परिस्थिती हो । विभिन्न प्राविधिक समस्याहरु उत्तिकै छन् । जसका कारण अभिभावक र बालबालिकामा मनोसामाजिक समस्या देखिने गरेको छ । आर्थिक रुपमा हामी त्यति सक्षम छैनौँ । ल्यापटप, मोबाइल, इन्टरनेट सबैको राम्रो पहुँच भएका बालबालिकामा खासै समस्या देखिँदैन । त्यस्तै घरायसी वातावरण पनि सहज हुनुपर्छ ।
आर्थिक र प्राविधिक रुपमा खासै समस्या नभएका र अभिभावकले सहजीकरण गरिदिएको अवस्थामा अनलाइन माध्यमबाट सिकाइलाई अगाडि बढाउँदा खासै समस्या हुँदैन । तर एउटै घरमा तीन, चार जना बालबालिकाले अनलाइन माध्यमबाट कक्षा लिनुपर्ने अवस्थामा भने समस्या आउन सक्छ । मानसिक रुपमा तनाव हुन सक्छ । अझ साना बालबालिकालाई अभिभावकलेसँगै बसेर भिडियो अन, अफ, माइक म्युट, अनम्युट गरिदिनुपर्दा झनै समस्या हुन्छ । र लामो समय अनलाइनमा बसेर पढ्दा बालबालिकामा मानसिक समस्याहरु देखिन सक्छन् । अनलाइन माध्यमबाट पढ्न थालेदेखि बालबालिकाको स्वभावमा परिवर्तन आएको कतिपय अभिभावकहरु बताउँछन्।
कोरोनाको समय भन्दा अगाडि बालबालिकाहरु स्कुलमा साथीहरुसँग पढ्न पाउँथे । खेल्दै रमाउँथे । बालबालिका स्कुल पठाएपछि अभिभावकले पनि त्यति धेरै गाइड गरिरहनुपर्ने अवस्था हुँदैन थियो । तर अहिले एकोहोरो तीन, चार घण्टा अनलाइन कक्षामा बस्नुपर्दा अभिभावक र बालबालिका दुवैमा मानसिक समस्या देखिने गरेको पाइएको छ । अघिल्लो वर्ष केही अभिभावकसँगको कुराकानीका क्रममा पनि समस्या देखिएको भनेर अभिभावकले भनेका थिए ।
लामो समय ल्यापटप वा मोबाइलमा एकोहोरो हेर्दा आँखामा समस्या आउन सक्छ । तर अनलाइन कक्षा लिएकै कारण बालबालिकाको स्वास्थ्यमा त्यति ठूलो असर पारेको भने पाइँदैन । अनलाइन माध्यमबाट बालबालिकालाई पढाउँदा उनीहरुमा मानसिक समस्या नहोस् भन्नका लागि पढाइको शैली परिवर्तन गर्नु एकदमै आवश्यक हुन्छ । रमाइलो तरिकाले बालबालिकाको सिकाइ अगाडि बढाउनुपर्छ ।
कोरोनाका कारण घरबाहिर खेल्ने खेलहरु खेलाउन नसकिए पनि घरभित्रै खेल्न सकिने विभिन्न खेलहरु बालबालिकालाई खेलाएर बालबालिकालाई मानसिक समस्याबाट बचाउन सकिन्छ । बालबालिकाको व्यवहारमा परिर्वतन आएको छ कि भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्छ । दिक्क मान्ने, खानपानमा ध्यान नदिने, सानो कुरामा पनि रिसाउने, दुई वटा बच्चाहरु सँगै भएको बेलामा एक अर्कामा मिल्न नखोज्ने, रिसाएर कुरा गरेमा मानसिक समस्या भएको हुन सक्छ ।
व्यवहारहरु सामान्य मात्रै परिर्वतन भएको भए काउन्सिलिङ गरेर बालबालिकालाई पहिलाको अवस्थामा फर्काउन सकिन्छ । बालबालिकालाई समस्या नहोस् भन्नका लागि विद्यालयहरु आफैँले पनि केही समय काउन्सिलिङको कक्षा सञ्चालन गर्नसक्छन् । बालबालिकामा ठूला खालको समस्या भएमा, गाह्रो भएमा मानसिक रोग विशेषज्ञहरुसँग परामर्श लिनुपर्छ ।
(मानसिक रोग विषेशज्ञ डा. भरत गोइतसँग गरिएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।