सात बुँदे सहमतिपछि पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्किन तयार

 असार १३, २०७८ आइतबार १५:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभिन्न माग राखी आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) अन्तर्गतका प्राविधिकहरू काममा फर्किने भएका छन् । 

आइतवार प्राधिकरण र प्राविधिकहरू बीच प्राविधिकहरूको माग पूरा गर्ने सम्बन्धमा सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै प्राविधिकहरू काममा फर्किने भएका हुन् । प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुङ्ग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरूले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरू उपलब्ध गराउने सहमति भएको छ । 

प्राविधिकहरूले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालु आर्थिक वर्ष २०७७/०७८ को साउन महिनादेखि नै नियमअनुसार उपलब्ध गराइने भएको छ । 

त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुङ्गा अन्तर्गत रही कार्यरत इन्जिनियर राजा साहको कामकै क्रममा ज्यान गएकाेमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) ले पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

प्राधिकरण अन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरू (प्राविधिकहरू, सामाजिक परिचालकहरू, डकर्मीहरू समेत) को कार्य अनुभवसहितको विवरण रोस्टर तयार पारी अनलाइन पोर्टलमा राख्ने साथै त्यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा आउँदा प्रयोजनका लागि प्राधिकरणले पठाउने र प्राविधिकहरूलाई आउँदा दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने रिफ्रेसर तालिमको व्यवस्था प्राधिकरणले गर्ने सम्बन्धमा सहमति भएको हो । 

सहमति भएसँगै प्राविधिकहरू काममा परिचालित हुने र रोकिएको निजी आवासको सिफारिस गरेर तत्काल किस्ता पाउने गरी काम गर्ने तथा आउँदाे कात्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमका लागि निवेदन हाल्न सक्ने लक्ष्यका साथ काम गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले बताउनुभयो ।

आन्दोलनरत प्राविधिकहरूले आफ्नो माग पूरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) अन्तर्गतका प्राविधिकहरूका तर्फबाट अध्यक्ष अविनाश अमरले आफूहरूको माग पूरा भएको र आजैको मितिदेखि काममा खटिने बताउनुभयो ।

पुनर्निर्माण प्राधिकरण अन्तर्गतका प्राविधिकहरू निकै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया