‘हावा चले, बादल लागे’ बन्द हुन्छ रुकुमको विद्युत् सेवा

 असार १४, २०७८ सोमबार १५:५९:५२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा अनियमित हुने गरेको विद्युत् सेवाले नागरिकलाई हैरान बनाएको छ । विद्युत् सेवामा हुने अनियमितताका कारण यहाँका नागरिक मर्कामा परेका छन् । जिल्लाको सदरमुकाम रुकुमकोटमा पनि आकाशमा पानी पर्दा र हावा चल्नेबित्तिकै विद्युत् सेवा बन्द हुने गरेको छ ।    

विद्युत् सेवामा लामो समयसम्म सुधार नहुँदा विभिन्न कार्यालयको काममा प्रभाव पर्नुका साथै सर्वसाधारणसमेत त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीयवासी केशव थापाले हावा चल्दा र पानी पर्दा यहाँको विद्युत् गइ हाल्ने समस्या लामो समयदेखि भए पनि अहिलेसम्म सुधार नभएको बताउनुभयो । थापाले विद्युत् प्राधिकरणको काम पोल गाड्ने र तार तान्ने मात्रै भएको भन्दै सर्वसाधारणले गुनासो गरिरहेको उल्लेख गर्नुभयो ।

‘विगतमा स्थानीय लाइन हुँदा यसरी समस्या आउँदैनथ्यो’, थापाले भन्नुभयो, ‘स्थानीय लाइन काटेर जबरजस्ती केन्द्रीय लाइन जोडेपछि विद्युत् सेवामा समस्या आएको आम गुनासो छ ।’ स्थानीय लाइन हुँदा कम भोल्टेजको समस्या रहेको उहाँले बताउनुभयो । 

जिल्ला समन्वय समिति रुकुम पूर्वमा कार्यरत शाखा अधिकृत बिमला रोकाले विद्युत् अनियमित हुँदा नियमित कामकाजका साथै आवश्यक समन्वय, पत्राचार तथा प्रतिवेदनको काम गर्न निकै समस्या भएको बताउनुभयो । कार्यालयमा विद्युतको वैकल्पिक व्यवस्था नहुँदा विद्युत लाइन कुर्नैपर्ने अवस्था रहेको उहाँ भन्नुहुन्छ । बिजुली आउला र काम गरौँला भनेर काम गर्न खोज्दा कामै नहुने भएकाले त्यस्तो बेला बिजुली नहुँदा गर्न मिल्ने काम गरेर बिजुली आउनेबित्तिकै अनलाइनमा गर्नुपर्ने काम गर्ने गरेको शाखा अधिकृत रोकाले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जिल्ला सदरमुकाममै समेत विद्युत् आपूर्ति अनियमित हुँदा सरकारी कामकाजका साथै अन्य काममा प्रत्यक्ष प्रभाव परेको बताउनुभयो । प्रजिअ राईले विद्युत् कार्यालयले पनि सेवा सुधारका लागि पहलकदमी लिइरहेकोले अहिले विद्युतको आपूर्ति र सेवा प्रवाह सन्तोषजनक भएको जनाउनुभयो । 

विद्युत् अनियमितताको विषयमा नेपाल विद्युत् प्राधिकरणको रुकुम पूर्व वितरण केन्द्रका प्रमुख युवराज रावतले जिल्लामा सबस्टेशन नभएकाले बेला–बेला बिजुली जाने समस्या भएको बताउनुभयो । ‘वर्षायाममा अलिअलि समस्या बढ्ने देखिन्छ, पानी पर्यो भने पहिरो जाने, पोल ढल्ने, रुख बिरुवाले विद्युतका तारमा असर गर्ने भएकाले समस्या हुने गरेको छ’, प्रमुख रावतले भन्नुभयो, ‘सल्यानको श्रीनगरमा रहेको सबस्टेशनबाट रुकुम पश्चिम हुँदै आउने विद्युत् लाइनमा समस्या आउने गरेकोे तर सेवा सुरु गर्न कार्यालयले तत्काल पहल गर्ने गरेको छ ।’

यो समस्या समाधानका लागि रुकुम पूर्वको रुकुमकोट र काँक्रीमा दुई वटा सबस्टेशन बनाउने पहल भरहेको र त्यसका लागि कार्यालयले समन्वय गरिरहेको उहाँले जनाउनुभयो । काँक्रीमा सबस्टेशनका लागि जग्गा लिने काम भइसकेको र रुकुमकोटमा दुई चरणमा आएर जग्गाको लागि छलफल गरिएको छ । यसका लागि भने छुट्छै अरू कम्पनीले जिम्मा लिने भएकाले आफूले सहकार्य गरिदिएको वितरण केन्द्रका प्रमुख रावतले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया