जातीय प्रथा, परम्परा र दलित

 असार १६, २०७८ बुधबार ८:४९:२४ | सुवाश जमरकट्टेल
unn.prixa.net

मानिसको शरीर वा रङ्गको आधारमा विश्वका मानव समुदायको जातिय व्यवस्था छुट्याइएको पाइन्छ । मान्छेको जात अनुसार रङ्ग, वर्ण र बनावट फरक/फरक पाइन्छ । तर ती जातिहरुमध्ये कुनै पनि जातिलाई दलित वा अछुत जात भनेर भन्ने गरेको इतिहास पाइँदैन । 

जात विभाजनका विषयमा धेरै दार्शनिकहरुले आ-आफ्नै प्रकारले धारणा वा परिभाषा अगाडि सारेका छन् । भी.डी. जोतोमले विश्व मानव समुदायलाई ‘युरोपियड’सेतो वर्ण, ‘मङ्गोलियड’ पहेँलो वर्ण, ‘निग्रोइड’ कालो वर्ण गरेर जम्मा तीन जातमा विभाजन गरेका छन् ।

व्यलकले ककेशियन, मङ्गोलियन, अमेरिकन, मलायन र इथियोपियन गरेर पाँच जातमा विभाजन गरेका छन् । त्यसैगरी हक्सले पाँच, डकवर्गले सात तथा डेनिकरले सत्र समूह र उनन्‍तीस जातिहरुमा वर्गीकरण गरेका छन्। अर्का मानवशास्त्री जोतोभका अनुसार अहिले संसारमा तीस मानव जातिहरू पाइन्छन् भन्दछन् ।

नेपालको जातिय पृष्ठभूमि हेर्दा महाभारत (हिन्दुस्थान)बाट आएका आर्यहरुले नै नेपाली समाजमा जातीय विभेद र छुवाछुतको विरुवा रोपेका हुन् भन्ने उक्ति पाइन्छ । सुरुमा भारत प्रवेश गर्ने आर्यहरु कुन जातिका थिए भन्ने विषयमा विद्वानहरूको मत भिन्नता देखिन्छ ।

डा. रमाशंकर त्रिपाठीका अनुसार 'भारत प्रवेश गर्ने आर्यहरु इन्डोयुरोपियन जातिकै एक शाखा थिए । जसको आदिम भूमि कालो सागरको उत्तरी भूमिमध्ये रसिया र मध्य तथा पश्चिम जर्मनी आदि क्षेत्रहरु थिए ।'धार्मिक दृष्टिकोणबाट हेर्दा वेदमा ‘जन्मनो जायत शुद्र, कर्मणो जायत ब्राह्मण’ भनिएको छ ।

वर्णश्रम धर्मभित्र चार वर्ण ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र जातिहरु छुटै र फरक जाति नभएर एउटै जातिका हाँगा भएको छनक पाइन्छ । अर्थात रङ्ग, वर्ण, गुण फरक भए पनि एउटै जात भएको विचार विभिन्न विद्वानहरूको पाइन्छ ।

ऋगवेदको पुरुष शुक्तमा उल्लेखित वर्णश्रम व्यवस्थालाई बङ्ग्याएर ‘फुटाउ र मोजगर’ मुल मन्त्रका साथ मनुस्मृतिले गरेको व्याख्या पश्चात फैलिँदै गएको जातिय व्यवस्था लिच्छविकाल (ई.सं. ८७९) को सुरु देखिनै नेपालमा भित्रिएको तथ्य राजा नरेन्द्रदेवको (ई.सं. ६४५-८७९) ‘अनन्त लिगेश्वर’ अभिलेखले पुष्टि गर्दछ । यो प्रथा मल्लकालमा आएर वा जयस्थिति मल्ल ( वि.सं. १४३८-१४५२) मा झन परिस्कृत बन्न पुग्यो ।

लिच्छविकालमा चार वर्ण अठार जात भएता पनि मल्ल राजाले चार वर्ण छत्तीस जातमा विभाजन गरे । साथै माथिल्लो जात र तल्लो जात भनि विभेद पनि सृजना गरे । नागरिकलाई विभिन्न नागरिक अधिकार प्राप्त गर्नबाट वञ्चित गराइयो । त्यसपछि १९१० सालमा आएर सुरेन्द्र विक्रम शाहको पालामा जङ्गबहादुर राणाको सक्रियतामा आएको नयाँ मुलुकी ऐनले वर्षौंदेखि पछि परेको जातिय विभेदको प्रथाको टेवा बनेर आयो ।

अर्थात १९१० को नयाँ मुलुकी ऐनले छुवाछुत प्रथालाई वैधानिकता दियो र अहिलेसम्म पनि त्यसका धेरै अवशेषहरू सक्रिय वा निष्क्रिय रुपमा बाँकी नै रहिरहेका छन् ।

दलित शब्दको प्रचलन

भारतमा सन् १९५० को दशकदेखि बढी प्रचलनमा आएको दलित शब्द नेपालमा पनि १५/२० वर्षदेखि बढी चलनचल्तीमा आएको छ । दलित शब्दको अर्थ हेर्दा संस्कृत भाषाको ‘दल’ धातुमा ‘इत’ (दल + इत) प्रत्यय लागेर बनेको पाइन्छ । यसको शाब्दिक अर्थ माडिएको, पिसिएको वा दमनद्वारा शान्त पारिएको भन्ने हुन्छ । यसरी हेर्दा दलित कुनै जात, वर्ग वा वर्ण विशेष नभइ अपहेलित, उपेक्षित वा दमित भन्ने बुझिन्छ भने  जात विशेषले स्वतः दलित तल्लो जात र सम्भ्रान्त ठूलो जात हुदैन भन्ने हुन्छ ।

विभिन्न दलितसँग सम्बन्धित सरकारी सङ्घसंस्थाको परिभाषालाई हेर्दा दलित गैरसरकारी संस्था महासंघको सैद्धान्तिक कार्य दिशामा प्रस्तुत परिभाषा 'दलित समुदाय भन्नाले वंशानुगत शील्पकर्मी, श्रमिक, कला र संस्कृतिको धनी समाजका सजग समुदाय वा जातिहरु नै दलित हुन्'भनिएको छ । त्यस्तै जन उत्थान प्रतिष्ठानको विधान २०६० अनुसार 'दलित भन्नाले वंशानुगत शिल्पी कला र संस्कृतिले धनी समाजका सर्जक समुदाय भन्ने बुझिन्छ'भन्ने पाइन्छ ।

यसरी अन्य परिभाषा तथा मान्यताहरुलाई अध्ययन विश्लेषण गर्दा दलित जाति नै हैन वा जात भए पनि हामीले भने बुझे जस्तो तल्लो जाति हैन । तर १९१० को मुलुकी ऐनको आधारमा अछुत भनेर सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक  र धार्मिक रुपमा पछाडि पारिएको समुदाय नै कालान्तरमा दलित हुन पुगेको देखिन्छ ।

यसको सबैभन्दा ठूलो असर भनेको छुवाछुत प्रथाले जरा गाड्नु नै हो । दलित शब्द प्रयोग गर्दैमा मान्छेले निराश हुनु पर्ने, हीनताबोध जगाउनु पर्ने कुनै कारण छैन । यो शब्द अपमानित हैन तर मानवले व्यवहारमा गलत प्रयोग र व्याख्या गर्नाले अपहेलित बन्न पुगेको हो ।

यी माथिका विभिन्न परिवेश तथा परिभाषाका अलवा मानव समुदायको विकास सँगसँगै विकास भएको वर्ग सङ्घर्षका कारण उच्च वर्ग र निम्न वर्गको विभाजन भएको पाउन सक्छौँ । यस्तो क्रम बढ्दै जाँदा छुवाछुत भेदभावको प्रथा बढ्दै गएको पनि पाइन्छ । उच्च वर्गले निम्न वर्गलाई शोषण गर्दै गयो शोषित वर्ग आफ्नो अस्तित्वको पहिचान नगरी माग्न र खानमा नै चित्त बुझाउन थाल्यो ।

आफ्नो अधिकार माथि उच्च वर्गले फिजाउँदै गरेको पञ्जाको प्रवाह नगरी परनिर्भर बन्दै गयो । उनीहरु आफ्नो कला, कौशल र कर्मलाई समेत भुल्न पुगे र उच्च वर्गले जे भन्यो त्यही मान्दै गए । सम्भ्रान्त वर्गले पनि उनीहरुलाई अप्ठ्यारा, कठिन र फोहोरी कामहरु जिम्मा दिन लागे ।

चौबीसै घण्टा त्यस्तै वातावरणमा काम गर्दा मान्छेको स्वभाव तथा रुपमा समेत फरक पर्न गयो । फलस्वरुप रङ्गका आधारमा समेत उनीहरु अपहेलित हुनु पर्ने भयो । त्यही जाति कालान्तरमा दलित जाति हुन पुगेको कुरा अनुमान गर्न सकिन्छ ।

वर्तमान अवस्था

संसार परिवर्तनशील छ । हरेक समय मौसमसँगै सबै कुराहरु धेरथोर परिवर्तन भइरहेकै हुन्छन् । यो शाश्वत सत्य हो । समय परिवर्तनशील भएकै कारण यो वर्गमा पनि नैतिक चेतना, मूल्य मान्यताहरुको विकास हुँदै गयो र सुधारको बाटोमा अग्रसर बन्यो ।

कसैकसैमा पुरानै मानसिकताका अवशेषहरु रहनु स्वाभाविक मान्नु पर्दछ । कतिले आफ्नो जातको अपमान गर्दै दलितको दर्जाबाट माथि उठ्ने बाहानामा बानी, व्यवहार र शिक्षालाई सुधार गर्नुको सट्टा आफ्नो जात-थरलाई परिवर्तन गर्ने, दलित समुदायको परिभाषाबाट बाहिर निस्केर बस्ने धृष्टता गरे ।

उदाहरणको लागि नेवारी समुदायका कपाली-कुशुले, खड्गी-कसाई, धोबी-नेवार, देउल-पोडे, त्यस्तै विश्वकर्माहरुले घिमिरे, शिवाकोटी, लामिछाने, नेपाल, बुढाथोकी दमाई समुदायले कार्की, नेपाली, रिजाल, पोख्रेल आदि लेखेर आफ्नो थरलाई नै नामेट गर्ने काम पनि गरे ।

सरकारी तथा अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट दलित समुदायलाई विभिन्न सहयोग तथा राहात सुविधा उपलब्ध हुन थालेपछि आफ्नै वास्तविक थर लेख्न बाध्य भएका उदाहरणहरु प्रशस्तै छन् । आफ्नो जिम्मेवारी र कर्तव्य पालना गर्दै समाज र देशप्रति केही गरौँ भनेर सामाजिक भावनामा उठेका दलितहरु सम्मानित नै छँदैछन् ।

'मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन, क्षेत्रीको छोरा यो पाउ छुन्छ घिनले छुँदैन'भन्ने लक्ष्मी प्रसादका श्लोकबाट हेर्दा दलित शब्द रङ्ग, धर्म वा धनका आधारमा नभएर कर्मका आधारमा हुने हुँदा हामी जो आफ्नो कर्मको पथमा चुकेका छौँ वा गलत बाटो हिँडिरहेका छौँ ती भोलिको इतिहासका दलित हौँ र जो दलित भएर पनि आफ्नो कर्तव्य पालना गर्दै व्यक्तिगत स्वार्थलाई त्यागी सामाजिक स्वार्थका लागि व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै योगदान पुर्याइरहेका छन् । ती भोलिका देशका गहना हुने छन् । समाजमा विद्यमान केही आडम्बरी आदर्शहरु व्यवहारतः हराउँदै जानेछन् । 

फलामको काम कामीले नै गर्नुपर्छ, सिलाई कटाई दमाईले नै गर्नुपर्छ भन्ने मान्यता हराई नै सकेको छ । जसले पनि सिकेर गर्दा हुन्छ । अहिलेको पालिकाको संरचनामा प्रत्येक वडामा एक जना दलितको प्रतिनिधित्व हुनु पर्छ भन्ने मान्यताले हजारौँ जना दलित नेताको नेतृत्व विकास भएको छ ।

सबै बालबालिकालाई विद्यालय शिक्षामा समावेश गराउनाले दलित बच्चाहरु पनि शिक्षाको मूलधारमा आएका छन् । अब कडा मेहनत र परिश्रम गरेर शिक्षा लिने कार्यमा अग्रसर बन्नु पर्दछ । जसले गर्दा सम्भ्रान्त वर्ग सरह बौद्धिक रुपमा अगाडि बढ्न मद्दत पुग्दछ।

समाज र राष्ट्रलाई सुशिक्षित बनाउने शिक्षा प्रणाली, भूगोल सुहाउँदो व्यवहारिक र जीवन उपयोगी शिक्षा दिलाउन सकेमा पनि उच्च वर्ग वा उच्च जात र निम्न जात भनेर भेदभाव गर्ने प्रचलन कम भएर जान्छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवाश जमरकट्टेल

जमरकट्टेल चोमोलुङ्मा फाउन्डेसन नेपालका केन्द्रीय सचिव हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया