‘रत्नपार्क बसपार्क हटाइएपछि यात्रु खाेज्न टुँडिखेल वरिपरि घुमेकाे घुम्यै गर्नुपरेकाे छ’

 असार १५, २०७८ मंगलबार १४:१७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक गाडीले यात्रु भने पर्याप्त पाउन सकेका छैनन् । गएकाे वैशाख १६ गतेदेखि ग्यारेजमा थन्किएका ठूला गाडी दुई महिनापछि आज (मङ्गलवार) देखि सञ्चालन हुन थालेका छन् । 

काठमाण्डाै जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले हिजाे गरेको निषेध आदेशअनुसार काठमाण्डाै उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक गाडी जोर–बिजोर प्रणालीअनुसार आजदेखि सञ्चालन हुन थालेका हुन् ।

बल्लतल्ल जोर–बिजोर प्रणालीअनुसार एक दिन बिराएर गाडी सञ्चालन गर्न पाए पनि काठमाण्डौ महानगरपालिकाले रत्नपार्कमा रहेकाे बसपार्क हटाइएपछि मर्कामा परेकाे चालकहरूले गुनासाे गरेका छन् । सिट क्षमताको आधा सङ्ख्यामा यात्रु बोक्नुपर्ने र त्यही सङ्ख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुर्‍याउन पनि धौ–धौ भएको उनीहरूको गुनासो छ । 

महानगरले तोकिएका बस स्टेशनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समय मात्रै बस रोक्न दिएपछि यात्रु खोज्नका लागि टुँडिखेल वरिपरि घुमेको घुम्यै गर्नुपरेको चालकहरूले गुनासो गरेका छन् । उनीहरूले यातायात मजदुरको समस्यालाई सरकारले बुझ्न नसकेको र अवहेलना गरेको आरोप लगाए । बूढानीलकण्ठ–रत्नपार्क रुटमा बस चलाउने चालक हिरारत्न जति भने पनि सरकारले आफूहरूको दुःख नसुन्ने गरेको गुनासो गर्नुहुन्छ ।

२५ सिटभन्दा बढी क्षमताका सार्वजनिक गाडीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रूपमा भौतिक दुरी कायम गर्दै चलाउन दिइए पनि त्यसभन्दा कम सिट क्षमताका गाडीलाई अझै पनि सञ्चालनको अनुमति दिइएको छैन । माइक्रोबसका चालक तथा सहचालकहरू राज्यले यातायात क्षेत्रका मजदुरलाई अवहेलना गरेको र आफूहरूकाे समस्या नबुझेको गुनासो गर्छन् । साथै काठमाण्डौ महानगरले रत्नपार्कबाट बसपार्क हटाउने गरेकाे निर्णय पनि अव्यावहारिक भएको उनीहरूकाे दाबी छ । बूढानीलकण्ठ–रत्नपार्क रुटका सहचालक लीलाराज गिरी वैकल्पिक ठाउँ नतोकिकन बसपार्क हटाउँदा यात्रु, व्यवसायी तथा गाडी चालक समस्यामा परेको बताउनुहुन्छ । 

यसैबीच आजदेखि काठमाण्डाै उपत्यकाका तीन जिल्लामा ठूला सार्वजनिक गाडी गुड्न थालेका छन् । अटोमोबाइल्स व्यवसायीहरू भने लामो समयदेखि ग्यारेजमा थन्किएका गाडी सामान्य मर्मतविना सडकमा निकाल्न नहुने तर्क गर्छन् । अटोमोबाइल्स व्यवसायी मधुसूदन सिग्देलले मेसिनरी सामानहरू सञ्चालन नगरि थन्काएर राख्दा विभिन्न पाटपुर्जामा समस्या आउने भएकाले लामो समय थन्किएका गाडीकाे अवस्था जाँच गराएर मात्रै बाहिर निकाल्नुपर्ने बताउनुभयो ।

विना जाँच नै गाडी सडकमा ल्याउँदा दुर्घटना हुन सक्ने भन्दै अटाेमाेबाइल्स व्यवसायी सिग्देलले सबैलाई आ–आफ्ना गाडीकाे सामान्य जाँच गराउन आग्रह गर्नुभयो । लामो समय सञ्चालनमा नरहेका गाडीकाे स्टार्ट, ब्रेक तथा इन्जिनमा नै समस्या देखिने भएकाले विना जाँच बाहिर निकाल्दा दुर्घटना हुन सक्नेतर्फ ध्यान दिन उहाँकाे आग्रह छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया