सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको छ, यो चक्रव्यूह तोडेर अगाडि बढ्छौँ : प्रदीप ज्ञवाली

 असार १५, २०७८ मंगलबार १८:२०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रवक्ता तथा पूर्व–परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रव्यूह तोडेर अगाडि बढ्ने बताउनुभएको छ । असार १५ राष्ट्रिय धान दिवसको अवसरमा आज राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा सङ्घ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका ९ नंखेलमा आयोजना गरिएको रोपाइँ विशेष कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । 

अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै उहाँले यो खेल वर्तमान प्रधानमन्त्रीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्र सीमित नभएको दाबी गर्नुभयो । एमाले स्थायी समिति सदस्यसमेत रहनुभएका ज्ञवालीले भन्नुभयो, ‘सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको छ, यो प्रधानमन्त्रीको लडाइँ मात्रै हो भन्ने बुझ्नु हुँदैन, देशमा अहिलेसम्म भएका उपलब्धिलाई सिध्याउने षड्यन्त्र पनि हो ।’ 

जब–जब एमाले विकासको लहर लिएर आउँछ तब–तब एमालेलाई घेराबन्दीमा पारेर सिध्याउने षड्यन्त्र हुने गरेको भन्दै उहाँले एमालेलाई सिध्याउने २०५० सालदेखिको षड्यन्त्र असफल हुँदै आएको बताउनुभयो ।  

‘एमाले जुर्मुराएको बेलामा २०५० सालमा मदन भण्डारीको हत्या भयो, अब एमाले सिद्धियो भन्ठानेका थिए तर एमाले धुलो टकटकाएर उठ्यो, २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अनेकौँ दाउपेच भयो, अब एमाले ढल्यो भन्नेहरूका अगाडि एमाले फेरि ब्युझिँएर अगाडि बढ्यो’, नेता ज्ञवालीले भन्नुभयो, ‘२०५४ सालमा एमाले फुट्यो, अब त सधैँका लागि एमाले सिद्धियो भन्थे, फेरि सशक्त भएर आयो, ज्ञानेन्द्र शाह र माओवादीको बिगबिगी हुँदा एमाले यता न उता कता हो कता भन्थे तर स्पष्ट रूपमा सशक्त भएर आयो, अहिले फेरि चक्रव्यूहमा पारेर एमाले सिध्याउन खोज्दै छन् तर सबै चक्रव्यूह तोडेर एमाले फेरि अगाडि बढ्छ, युवा अगाडि बढ्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई गएका केही वर्षमा विकास र समृद्धिको नयाँ उचाइमा पु¥याएको बताउँदै उहाँले सरकारले गरेका सबै उपलब्धिलाई सिद्ध्याउने खेल देशकै लागि घातक भएको भनाइ राख्नुभयो ।  

कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था रहेको भन्दै उहाँले भन्नुभयो, ‘आफ्नै घरबाट मान्छेको अपहरण र हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी गर्ने आँट थिएन, चन्दा मागे डरले आफैँ पोको पारेर चन्दा बुझाउन जान्थे, चन्दा मागेन भने ब्ल्याक लिस्टमा पो परेँ कि भनेर डराउँथे, त्यस्तो एउटा डरलाग्दो हिंसाको अवस्थालाई शान्तिपूर्ण माध्यमबाट हिंसाको अन्त्य गरियो, गुमेको नेपाली भूभागलाई नक्सामा समेट्ने काम गरियो, भूमि फिर्ता ल्याउन पहल गरिरहेको छ, देशको परराष्ट्र नीतिलाई सुधार गर्दै लगियो, समृद्ध नेपाल सुखी नेपालीको अभियान अगाडि बढ्यो, सरकारका यस्ता उपलब्धीलाई सिध्याउने षड्यन्त्र अहिले भइरहेको छ ।’

संविधान बनाउँदा भएको हस्तक्षेपको, नाकाबन्दीको सामना गर्दै, जातजाति, धर्म, लिङ्ग, मधेश पहाडदेखि भूगोलको विषय उठाएर हिंसा भड्काउने खेल विगतदेखि नै भएको भन्दै उहाँले अब युवा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।  

सरकारले विभिन्न ठूला सिँचाइ आयोजना सञ्चालन गरेको, कृषिलाई आधुनिकीकरण र प्रविधियुक्त बनाउँदै लगेको, मलको हाहाकार हुन नदिन आफ्नै देशमा रासायनिक मल उत्पादन गर्न लागेको भन्दै उहाँले देशलाई कृषिमा आत्मनिर्भर बनाएर खाद्यान्न निर्यात गर्न सक्ने अवस्थामा पुर्‍याउन लागिरहेको बताउनुभयो । 

कार्यक्रममा युवा सङ्घका इन्चार्ज, पूर्वमन्त्री एवम् निवर्तमान सांसद महेश बस्नेतले सरकारले देशको व्यापार घाटा घटाउँदै कृषिमा आधुनिकीकरण गर्दै लगेको चर्चा गर्नुभयो । विद्यार्थीलाई शैक्षिक, महिला, दलित, जनजातिलाई उद्यमी, विदेशबाट आउनेलाई उद्योगमा लगाउन सहुलियत ऋण सरकारले उपलब्ध गराउँदै आएको भन्दै उहाँले भूकम्पपछि टनेल खेतीदेखि कौसी खेतीसम्म गर्नेलाई अनुदान दिएर सरकारले कृषिमा आत्मनिर्भर बनाउँदै लगेको भनाइ राख्नुभयो । 

कार्यक्रममा युवा सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले कृषिको विकास र उत्पादन वृद्धिमा युवा लागेको चर्चा गर्नुभयो । सङ्घका महासचिव रमेश आचार्य, सङ्घका भक्तपुर अध्यक्ष राजु लुबञ्जारलगायतले युवा सङ्घको भूमिकाका बारेमा चर्चा गर्नुभयो । 

कलाकारको धान रोपाइँ नाटकमै सीमित !

कार्यक्रममा नेपाली सिने क्षेत्रदेखि लोकगीत सङ्गीतमा लाग्नेको बाक्लै उपस्थिति थियो तर नाम चलेका अधिकांश कलाकारले धान पारेको नाटक गर्दै फोटो खिचेर फर्किए । 

धान दिवसका अवसरमा रोपाइँ कार्यक्रममा सहभागी हुन आइपुगेका अभिनेत्रीद्वय दीपाश्री निरौला र स्वस्तिमा खड्काले धान रोपेको नाटकै गरेर फर्किए । फेसन डिजाइनर सुरविन बान्तवा र स्वस्तिमासँग दीपाश्रीले खेतको हिलोमा पसेर केही गाँबो धान रोपेर तस्बिर लिँदै फर्किएपछि कार्यक्रममा आएका स्थानीयवासीले नाटकै गरेर फर्किए भन्दै टिप्पणी गर्दै थिए ।

इन्द्रेणी सांस्कृतिक सङ्घको समूहले भने धान रोपाइँमा केही रमाइलो गरेर फर्कियो । इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलसहित छत्र शाही, कल्पना दाहाललगायतका लोक दोहोरीका कलाकारले भने गीत गाउँदै रमाउँदै धान रोपाइँमा सहभागिता जनाएका थिए ।

 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया