‘गण्डकी प्रदेश सरकारकाे सहमतिविना कालीगण्डकी डाइभर्सन अघि बढ्छ भने प्रतिकार गर्छाैँ’

 असार १६, २०७८ बुधबार १४:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना गण्डकी प्रदेशका नागरिककाे अहितमा रहेको भन्दै यसलाई रोक्न माग गर्नुभएको छ ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री खड्काले यस परियोजनाले गण्डकी प्रदेशको जैविक विविधता, पर्यावरण, पर्यटनमा असर पार्ने भन्दै यसलाई रोक्न माग गर्नुभएको हो । सङ्घीय सरकारले यस परियोजना निर्माणका लागि प्रदेश तथा पालिकासँग कुनै प्रकारको समन्वय नगरेको उल्लेख गर्दै उहाँले सङ्घ सरकारले गण्डकी प्रदेशको भूगोल, प्राकृतिक स्रोत र सम्पदामाथि नै अतिक्रमण गरेको बताउनुभयो । सङ्घ सरकारको यो कामलाई सङ्घीयता र संविधानमाथिकै प्रहारको रूपमा प्रदेश सरकारले बुझेको उहाँले बताउनुभयो । 

प्रदेश सरकारका प्रवक्ता खड्काले भन्नुभयो, ‘सङ्घ सरकारले गण्डकी प्रदेश सरकारसँग सामान्य सरसल्लाह/समन्वय नगरिकन कालीगण्डकीलाई डाइभर्ट गरेर तिनाउ खोलामा मिसाएर अगाडि बढाउने भनेर योजनाको शुभारम्भ गर्‍याे । कार्यालय स्थापना गर्‍याे । यसमा गण्डकी प्रदेश सरकारको ठूलो आपत्ति छ । तीन तहका सरकारलाई संविधानले अनुसूचीको ५, ६, ७, ८ र ९ मा एकल अधिकार र साझा अधिकार प्रदान गरेको छ । त्योअनुसार पालिका, प्रदेश र सङ्घीय सरकार गाइडेड हुनुपर्छ । यो परियोजनाको सन्दर्भमा सङ्घ सरकारले आफूमात्र रहेको भनेर निर्णय गरेको छ । यो संविधानको बर्खिलाप छ । सङ्घीयताको बर्खिलाप छ । अझ विस्थापनमा जाने सरकार त्यसले दीर्घकालीन महत्त्वको योजना ल्याउँदा खेरी निर्वाचन आचार संहिताको पिरियडमा ल्याउनु पनि राजनीतिक रूपमा अपराध हो भन्ने हाम्रो ठम्याइ हो । जैविक विविधता, पर्यावरण, पर्यटन, राजनीति र सङ्घीयतामा असर गर्ने गरेर यसले सर्वाङ्गीण क्षेत्रमा असर गर्ने हुँदा खेरी, गण्डकी प्रदेशको नागरिककाे अहितमा रहने गरेर गण्डकी प्रदेशको हित विपरीत यो परियोजना आएको छ । यो परियोजना गण्डकी प्रदेशको भूगोलमा, प्राकृतिक स्रोत र सम्पदामा, सङ्घको अतिक्रमण, सङ्घीयता र संविधानमाथिको प्रहार हो भन्ने बुझेर हामीले यो कार्यक्रम तत्काल रोक्नका लागि प्रदेश सरकारको तर्फबाट केन्द्र सरकारलाई अनुरोध गरेका छौँ ।’

कालीगण्डकी केवल नदीमात्रै नभइ सभ्यता पनि भएको भन्दै उहाँले कालीगण्डकीको सभ्यता र संस्कृति मास्न नहुने बताउनुभयो । कालीगण्डकीको पानी डाइभर्ट गरेर तिनाउमा मिसाएमा संस्कृतिको धरोहरको रूपमा रहेको देवघाटमा पनि पानीको अभाव हुने, देवघाटको अस्तित्व नै मासिन सक्ने पनि उहाँले बताउनुभयो । त्यस्तै कालीगण्डकी उपत्यकाका १० वटा पालिका, चितवन राष्ट्रिय निकुञ्ज पनि मरुभूमिमा परिणत हुने प्रवक्ता खड्काले बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘कालीगण्डकी नदी मात्रै होइन हाम्रा लागि । कालीगण्डकी सभ्यता पनि हो । १७ महत्त्वपूर्ण सभ्यतामध्येको एउटा सभ्यता कालीगण्डकी हो । यदी कालीगण्डकीलाई डाइभर्ट गरेर तिनाउमा लगेर मिसाउनु हुन्छ भने हाम्रो संस्कृतिको सबैभन्दा ठूलो धरोहरको रूपमा रहेको देवघाटमा पानीको कमी हुन्छ र ६ महिना देवघाट सञ्चालन हुन सक्ने र ६ महिना सञ्चालन हुन नसक्ने स्थितिमा पुग्दा देवघाटको अस्तित्व नासिँदा संस्कृतिमाथिको ठूलो प्रत्याक्रमण सङ्घ सरकारले गरेको रूपमा हामीले बुझेका छौँ । नवलपुर बाँझो हुनेछ । कालीगण्डकी उपत्यकामा १० पालिका छ । ती मरुभूमिमा परिणत हुने सम्भावना हामीले देखिरहेका छौँ । चितवन राष्ट्रिय निकुञ्जमा पानीको बहाव कम भयो भने त्यहाँ गोहीजस्ता जलचरको अस्तित्व नासिने र विश्व सम्पदा सूचीबाट बहिष्कृत हुने सम्भावना हामीले देखेका छौँ ।’

मन्त्री खड्काले यो परियोजना गण्डकी प्रदेश सरकारको असहमतिविना निर्माण गर्न खोजिए प्रदेश सरकार विरोधमा मात्रै नभइ प्रतिकारमा समेत उत्रिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशका नागरिकले मूल्य चुकाएर, गण्डकी प्रदेशको विनाश गरेर, गण्डकी प्रदेशका नागरिककाे अहित गरेर गर्न कसैले खोज्छ भने त्यसको हामीले विरोध मात्रै होइन, प्रतिकार पनि गर्छाैँ । यो चेतावनी सङ्घ सरकारले प्राप्त गरोस् ।’

कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माणको सम्बन्धमा केन्द्र सरकार र प्रदेश सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा यो आयोजना विवादित बनेको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया