रुकुम पश्चिम : राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा तीन विद्यार्थी घाइते, ११ जना पक्राउ

 असार १६, २०७८ बुधबार २०:२२:४८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा रुकुम पश्चिममा तीन विद्यार्थी नेता घाइते भएका छन् । घटनामा अन्य ११ जना पक्राउ परेका छन् । 

संयुक्त विद्यार्थी सङ्गठनले बुधवार (आज) बेलुका रुकुम पश्चिमको सदरमुकाम खलङ्गामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा प्रहरीले लाठी प्रहार गर्दा तीन विद्यार्थी नेता घाइते भएका हुन् । 

पुत्ला जलाउने क्रममा प्रहरीको लाठी प्रहारबाट अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष सुशील विष्ट, अखिल क्रान्तिकारीका जिल्ला सचिव नारायण केसी र अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान जिल्ला उपाध्यक्ष सोमपाल कामी घाइते भएका हुन् । घाइतेमध्ये विष्ट र केसीको टाउकोमा चोट लागेको र कामीको हातमा चोट लागेको विद्यार्थी नेतृ भावना शर्माले बताउनुभयो ।

घाइते विष्ट र केसीसँगै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मासहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनीहरूको रिहाइको माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनका नेता प्रहरी कार्यालय पुगेका छन् । 

संयुक्त विद्यार्थी सङ्गठनको कार्यक्रमअनुसार यहाँका राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले आज बेलुका पुत्ला जलाउने कार्यक्रम राखेका थिए । प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन, असंवैधानिक रूपमा विभिन्न निकायमा गरेको नियुक्ति र राष्ट्रपतिले त्यसको संरक्षण गरेको दाबी गर्दै विरोधमा पुत्ला जलाउने कार्यक्रम गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको हो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया