धादिङमा पहिरोले ट्रक पुरिँदा दुई जनाको ज्यान गयो : तीन जना घाइते

 असार १९, २०७८ शनिबार १०:५४:३० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङमा पहिरोमा ट्रक पुरिँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा खसेको पहिरोले चारवटा गाडीमा क्षति पुगेको छ । पहिरोले क्षति पुर्याएका चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दुई वटाको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ का  १८ वर्षका वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेकी भारत घर भएकी ४३ वर्षकी सोनी देवीको ज्यान गएको प्रहरीले जनाएको छ । सोनी देवीको उपचारका क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । तीन जना घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । पहिरोपछि राजमार्गमा बन्द भएको छ ।

गाडीको लाइन लागेको छ । गल्छी, घाटबेसी, बेनीघाट, जोगीमारा, तिकराङलगायतका ठाउँमा पहिरोले गएको छ । त्यस्तै आगरा खोला र महेश खोलामा आएको भेल बाढीले थाक्रे गाउँपालिका वडा नं २ र ११ जोड्ने सिम्लेमा निर्माणाधीन मोटरेबल पुल समेत बगाएको छ । ६ करोड ५४ लाखमा निर्माणाधीन पुल बाढीले बगाएको हो ।

आगरा खोलामा आएको बाढीले खोला किनारमा बसेका मजदुरको बिचल्ली भएको छ । १ सय ३४ परिवारको छाप्रा बगाएको छ । सबै मजदुरलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जनजागृति माध्यमिक विद्यालयका रामचन्द्र रुपाखेतीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया