मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलाउने तयारी, बाढी पहिरोले १५ ठाउँको सडक बन्द

 असार १९, २०७८ शनिबार १५:६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाढी र पहिरोका कारण देशभरका १५ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । मनसुन शुरु भएपछि एक सय एक वटा सडक बन्द भएकोमा २९ वटा पूर्ण रुपमा र ५७ वटा एकतर्फी सञ्चालनमा ल्याएको सडक विभागले जनाएको छ ।

तीन दिनदेखि कहिले बन्द हुने र कहिले खुल्ने भइरहेको मुग्लिन नारायणगढ सडक अहिले एकतर्फी खुलेको छ । १२ ठाउँमा गएको पहिरो पन्छाएर सडक खुलाइएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । सडक बन्द हुँदा चितवनको भरतपुरदेखि मुग्लिनसम्म गाडीको जाम रहेको र विस्तारै खुलाउने काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बेलुकी पाँच बजेसम्म सडक दुईतर्फी नै खुलाउने तयारी छ ।

यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ क्षेत्रमा ठाउँ ठाउँमा पहिरोले सडकमा अवरोध पुर्याएको छ भने केही ठाउँमा डाइभर्सन पनि बगाएको छ । अहिले बर्दघाट पश्चिम र नवलपरासी पूर्वका केही ठाउँका अवरोध हटाएर कतै एकतर्फी र कतै दुईतर्फी नै गाडी चलेका छन् । यस्तै मनाङको तिमाङ छहरामा पहिरो गएर जेठ ३१ गतेदेखि बन्द रहेको सडक अझै खुलेको छैन ।

यस्तै सिन्धुपाल्चोकको लिपिङ पुल, मनाङको तिमाङखोला, धारापानी र वगरछाप, लमजुङको रामबजार, अर्खले र च्याम्चेको सडक असार तीन गतेदेखि बन्द छ । रसुवाको त्रिसुलीखोला, सानो भार्खुखोला र बार्खुमा असार चार गतेदेखि सडक बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा असार ५ गतेदेखि सडक बन्द छ । यस्तै मकवानपुरको जितपुर, लामिडाँडा र बगुवामा पनि अस्ति बिहिबार देखि नै सडक बन्द रहेको सडक विभागले जनाएको छ ।

सडकमा झरेको पहिरो पन्छाउन, भत्किएको सडकमा अस्थायी संरचना बनाई तत्काल संचालन गर्न तथा अन्य मर्मतका लागि उपकरणसहित कामदारहरु तयारी अवस्थामा राखेको र सकेसम्म चाँडै सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया