सानीभेरीको पोखरीलेकमा खानेपानी, स्थानीयवासी भन्छन्, ‘उँधोबाट उँभो पानी आइजाने रहेछ’

 असार २५, २०७८ शुक्रबार १३:१५:३१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - उमेरले ५२ कटेकी सानीभेरी गाउँपालिका-५ पोखरीगाउँकी कल्पना खत्रीलाई आफ्नो घर आँगनमा पानीको धारा आइपुग्ला र घण्टौँ उकाली ओराली गरेर पानी ओसार्ने दैनिकी हट्ला भन्ने लागेकै थिएन। दिनहुँ गाग्रीमा पानी बोकेर घरधन्दा गर्ने कल्पनाले तलबाट माथितिर पानी आउँछ भन्ने कल्पना पनि नगरेको भन्दै पानी ल्याइदिने सरकारप्रति खुशी लागेको बताउनुभयो । 

गाउँमा आएको पानीले मुख धुँदै ४६ वर्षीया धनमारी कुसारीले अब खानेपानीकै लागि डोको, नाम्लो र गाग्री बोकेर दु:ख गर्ने दिन गएको बताउनुभयो । लेकमा रहेको गाउँमा तल रहेको पानीको मुहानबाट पुर्खौँदेखि पानी बोकेर बाँच्दै आएका यहाँका महिलाहरुलाई ठूलै राहत हुनेमा धनकुमारी ढुक्क हुनुहुन्छ । 

कल्पना र धनकुमारी जस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ का पोखरी गाउँका स्थानीय बासिन्दा सबैभन्दा उचाइमा रहेको लेखमा सौर्य खानेपानी आयोजनाको परीक्षण सफल हुँदा खुसी भएका छन् । यस गाउँमा अहिले दुई वटा सौर्य खानेपानी आयोजनाको परीक्षण सफल भएको छ ।

सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन सहितको टोलीले पोखरीलेखमा पुगेर सौर्य उर्जामार्फत लिफ्टिङ गरिएको पानी गाउँको माथिल्लो भागमा तानेर परीक्षण गरेको थियो । याे परीक्षण सफल भएपछि वर्षौँदेखि गाग्रीमा पानी बोकेर जीवन निर्वाह गरिरहेका पोखरी गाउँबासीमा अत्यन्तै उत्साह छाएको छ । 

पोखरी ग्रामीण सौर्य खानेपानी आयोजना र खाली ग्रामीण खानेपानी आयोजना गरी दुई वटा आयोजनाबाट भदाले, पोखरी, साइमेरी र पोखरी लेकका एक विद्यालयसहित कुल १ सय ८ घरधुरी खानेपानीको सुविधाबाट लाभान्वित हुँदैछन् ।

सानीभेरी गाउँपालिकाको अगुवाइमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अनुदान, प्रधानमन्त्री रोजगार कार्यक्रम र २० प्रतिशत जनश्रमदानमा यस आयोजना सम्पन्न गरिएको हो । जम्मा ९४ लाखमा गाउँको माथिल्लो भागमा पानी पुगेको खाली ग्रामीण सौर्य खानेपानी आयोजनाका सचिव दिनेश खत्रीले बताउनुभयो  ।  

स्थानीय ठूलाखोला मुहानबाट ४ सय ४० मिटर भर्टिकल उचाइ रहेको पोखरी ग्रामीण सौर्य खानेपानी आयोजना र १५० मिटर भर्टिकल उचाइ रहेको खाली ग्रामीण सौर्य खानेपानी आयोजनाबाट गाउँमा पानी पुर्याइएको सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

सर्वसाधारणलाई आफूले आधारभूत सेवा सुविधा दिलाउन लागि परेको बताउनु हुँदै अध्यक्ष पुनले गाउँपालिकाको सबैभन्दा उचाइमा रहेको गाउँमा खानेपानी पुर्याउनु आफ्नो कार्यकालको अर्को महत्त्वपूर्ण सफलता भएको उल्लेख गर्नुभयो । 

अध्यक्ष पुनले अबको बाँकी रहेको काम पूरा गर्न आउँदै आर्थिक वर्ष ०७८/०७९ मा २० लाख बजेट गाउँपालिकाले व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया