कोरोना सङ्क्रमित र कुरुवा लक्षित निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि बन्द

 असार २५, २०७८ शुक्रबार २०:१३:५४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई लक्षित गरी रुकुम पश्चिममा सुरुवात गरिएको निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि आज समापन गरिएको छ । 

गएको जेठ ७ गतेदेखि असार २५ गतेसम्म जिल्ला अस्पताल सल्लेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहको एक स्वयंसेवक समूहले चलाएको निःशुल्क खाना तथा खाजा खुवाउने अभियान ५१ दिनपछि समापन गरिएको हो ।  

कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा केही खुकुलो भइ होटेल तथा रेस्टुरेन्ट समेत खुला गर्ने जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय भएकाले अहिले त्यो अभियान समापन गरिएको अभियानका संयोजक तथा नेकपा रुकुमका जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले बताउनुभयो ।

कोरोना सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयद्वारा जिल्लामा निषेधाज्ञा जारी गरिएको र अस्पतालभित्र सञ्चालित चमेना गृहले पनि गुणस्तरहीन र महँगो खाना तथा खाजा खुवाएको गुनासोपछि निःशुल्क खाना खुवाउने अभियान चलाइएको थियो ।

समापन कार्यक्रममा निःशुल्क खाना तथा खाजा खुवाउने अभियानमा झन्डै एक हजार एक सय ४४ जनालाई झन्डै चार हजार आठ सय ४५ छाक खाना खुवाएको जानकारी दिइएको छ । यस अवधिमा अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई समेत खाजाको व्यवस्था गरिएको जनाइएको छ । अभियानका संयोजक विकले अभियान व्यवस्थापनका क्रममा पाँच लाख ३९ हजार आठ सय ३० रुपैयाँ खर्च भएको र तीन लाख ३७ हजार दुई सय ५० रुपैयाँ बराबरका विभिन्न जिन्सी सामान सहयोगी, दाताबाट प्राप्त भएको बताउनुभयो । उहाँले व्यवस्थापकीय रूपमा दुई लाख एक हजार सात सय रुपैयाँ तीर्न बाँकी रहेको समेत जानकारी दिनुभयो । 

पत्रकार महासङ्घका अध्यक्षसहित सात जना सम्मानित

अभियान समापनका क्रममा नेपाल पत्रकार महासङ्घ रुकुमका अध्यक्ष लक्ष्मण केसीसहित सात जनालाई सम्मान गरिएको छ ।  २०७८ जेठ ७ गतेदेखि असार २५ गतेसम्म जिल्ला अस्पताल सल्लेमा कोभिड १९ सङ्क्रमित बिरामी र कुरुवाका लागि निःशुल्क खाना तथा खाजा खुवाउने अभियानमा महत्त्वपूर्ण सहयोग गरेको भन्दै केसीसहित सात जनालाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको हो ।

उजेली न्युज डटकमका प्रकाशक तथा सम्पादकसमेत रहनुभएका केसीसहित सरस्वती मावि सल्लेका प्रधानाध्यापक खम्बुसिंह थापा, मुसिकोट नगरपालिका १ का वडाध्यक्ष वीरवल केसी,  स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापन विष्णु बुढाथोकी सम्मानित हुनुभएको छ ।

त्यसैगरी कार्यक्रममा विमानस्थल सुरक्षा गार्ड सल्लेका प्रहरी नायब निरीक्षक शेरबहादुर चन्द, साझा मुराल अस्पतालका डा. दीपक पुन र स्थानीय समाजसेवी नन्दकली दमाई सम्मानित हुनुभएको छ । 

समापन कार्यक्रममा नेकपा विप्लव समूहका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले अभियानमा सहयोग गर्ने विभिन्न सहयोगी, दातालाई धन्यवाद दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया