खप्तड एक, सौन्दर्य अनेक

 असार २६, २०७८ शनिबार ७:१२:४७ | सीताराम ओझा
unn.prixa.net

सुदूरपश्चिमको भूस्वर्ग खप्तडका फरक अनुहार
हरेक मौसम र ऋतुमा आउँछ प्रकृतिको बहार ।
कहिले पाटन रङ्गीचङ्गी भूइँफूलले ढाकिन्छन् 
कहिले पूरै पाटन हिउँ नै हिउँले छोपिन्छन् । 
कहिले सात थरी लालीगुराँस फुल्छन् 
प्रकृतिका रङ्गहरु प्रकृतिकै काखमा डुल्छन् ।  
जो पनि खप्तडको सौन्दर्यताले मोहित हुन्छन् ।।

माथि उल्लेख गरिएका हरफहरुले मात्रै केही सौन्दर्यता वर्णन गरेको हो खप्तडको । जता हेर्यो उतै हरिया फाँटहरू र ती फाँटहरूमाथि थपक्कै बसेका थुम्काहरू । पर्सियन कार्पेट ओछ्याएझैँ थरीथरी फूलहरू र ती फूलहरूमाथि झुम्मिरहेका रङ्गीबिरङ्गी पुतलीहरू । चारैतिर कलमी गरेझैँ लाग्ने घना जङ्गल र जङ्गलभित्र नौरङका लालीगुराँस । अनि, सुगन्धित जडीबुटी र हरिया घाँसे मैदान । डोटी, अछाम, बझाङ र बाजुराको सङ्गम खप्तड पुग्नेहरू हत्तपत्त घर फर्कन मान्दैनन् । त्यही हरियो पाटनमा लडीबुडी खेलिरहुँझैँ लाग्छ ।  छिनमै वर्षात् र छिनमै हिउँ ।  केहीबेरमै मान्छे उडाउँलाझैँ हावाहुरी त केहीबेरमै छिप्पिँदो घाम ।

अलि लम्किँदा छोइएलाझैँ लाग्ने हँसमुख हिमालहरू । खप्तड बाबाको कुटीको ठीक पछाडि उभिरहेझैँ देखिने अपि र सैपाल हरदम हाँसिरहेझैँ लाग्छ । खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण–क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ ।

खप्तडमा न्यूनतम पूर्वाधारको समेत विकास हुन सकेको छैन । यसैले, पर्यटकहरू कमै पुग्छन् । तर, खप्तडको विशेषता नै यसको दुरुह भूचित्र हो ।  यो अनकन्टार ठाउँमा छ, यसैले मानवीय क्रियाकलापबाट पनि अक्षुण्ण प्रायः छ । लाग्छ–यहाँ मानव द्वेष, लालच र भोकको कणहरू समेत छैनन् ।  

प्राकृतिक सौन्दर्यता थरि थरिका

प्राकृतिक नागढुङ्गा, केदारढुङ्गा, पुराना मठ–मन्दिर, बागबुट्टे निगालो, पाँचऔँले, बझाङी पादेखि हरियो छेपारोसम्म पाइने खप्तडले तीर्थालुदेखि अनुसन्धान गर्नेसम्मलाई लोभ्याउन सक्छ । डाँफेकोट, घोडादाउने पाटन र खप्तड दहमा पुगेर प्राकृतिक आनन्द लिने कुरा त खप्तडको विशेषता नै हो ।

३ हजार २ सय मिटर उचाइमा रहेको खप्तडमा अत्याधिक चिसो हुन्छ । पाटनहरू हिउँले सेताम्मे हुन्छन् । सानो हावाको झोँकामा पनि सुसेरा हालेझैँ गर्ने रानीसल्ला, बाँच, नौरङ्गी लालीगुराँस, खस्रोउ, लेकसल्ला, लोठसल्लाका रुखको आनन्द लिने कोही छैनन् ।

चार रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्ने यो क्षेत्र प्राकृतिक इतिहासको सङ्ग्रहालय र जीवित बगैँचा हो । नेपालमा पाइने ७ सय मुख्य जडीबुटीमध्ये २ सय २४ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ । प्रकृतिको यो अनौठो सङ्ग्रहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुङ्गी छन् ।

खस्रे भ्यागुता र बझाङ्गे पा गरी दुई प्रजातिका रैथाने उभयचर बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ पाटन र ५२ झोता छन् । यो १ सय ७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो । यो क्षेत्र कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो ।

अन्तिम अपडेट: असोज १७, २०७८

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया