सेनाद्वारा कर्णाली करिडोरकाे निर्माण सम्पन्न गरी हस्तान्तरण

 साउन १, २०७८ शुक्रबार ९:५७:२५ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा - नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य सम्पन्न भएको छ । २०७१ साल चैत ५ गतेदेखि नेपाली सेनालाई जिम्मा दिएसँगै कालीकोट, बाजुराको भूभाग छिचोल्दै हुम्लाको सरिसल्लासम्मको १ सय २२ दशमलव ७५ किलोमिटर लम्बाइ र ६ मिटर चौडाइ ट्रयाक खोली निर्माण कार्य सम्पन्न गरिएको हो ।

कर्णालीका स्थानीय बासिन्दा विकासमा जोडिने आशाले करिडोर निर्माण गरिएको हो । याे सडक भारतको रुपडिया नाकाबाट सुरु भएर कालीकोटको खुलालु, लैफु तथा बाजुराको जगन्नाथर हिमाली गाउँपालिका हुँदै हुम्लाको मैलाबाट सुरु भएर सिमीकोट जोडेर  चीनको तिब्बतसँग सिमानासम्म जोडिएकाे छ । यो सडक कर्णालीको विकासका लागि मेरुदण्ड हुने हुम्ला ताजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताउनुभयो । यो सडकको लम्बाइ १ सय २२ दशमलव ७५ किलोमिटरमा ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ३८ दशमलव ७५ किलोमिटर हुम्ला खण्ड रहेको छ । 

करिडोर बनेपछि  खुशी 

हुम्लाको सिमाना कवाडीमा २० वर्षदेखि व्यापार गर्दै आएका हिमाली गाउँपालिका–५ रुगिनका रन्दीप बुढ्थापाले भन्नुहुन्छ,‘ नाका खोल्न सके भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरु छोटो सयममा नै चीनबाट आयात गर्न सकिने र यसले कमै मूल्यमा सामान पाइने छ ।’

मुगुको ह्याङ्गलु गाउँको महादेव माविका शिक्षक पदमप्रसाद पोख्रेलले यो सडक बनेपछि अन्य विकासका पूर्वाधारहरुले पनि गति लिने भएकाले यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने  बताउनुभयो । कर्णाली करिडोर नेपालका उत्तर दक्षिण समृद्ध मार्ग भएकाले यसले कर्णालीको मात्र नभइ देशकै आर्थिक विकासका लागि योगदान दिने आशा गरिएको छ । 

हुम्ला ताजाकोट–५ मदानाका बमबहादुर रावलले अहिले एक पोका नुनलाई ८० देखि एक सय रुपैयाँ पर्ने गरेको तर अब सडक बनेपछि केही सस्तो हुने आशा लिएको बताउनुभयो । यस्तै, उहाँले कर्णालीमा उत्पादित, स्याउ, सिमी, ओखर, जडीबुटी लगायतले पनि बजार पाउनेमा ढुक्क भएको बताउनु भएको छ । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया