देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा रहनुहुन्न : एमाले

 साउन ३, २०७८ आइतबार १४:५६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘नेकपा(एमाले) को संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु चाहिँ पार्टी भित्र रहनुहुन्न । यो चाहिँ प्रष्ट नै हो ।’

प्रवक्ता ज्ञवालीले एमालेले देउवा सरकारको विपक्षमा मतदान गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले अस्तिको बैठकबाटै निर्णय गरिसकेका छौँ । हामी प्रतिपक्षमा रहन्छौँ । सरकारलाई समर्थन गर्न सक्दैनौँ र सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्छौँ । यही कुरा हामीले पार्टीका सबै सांसदहरु र सम्भव भएका अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेका छौँ ।’

प्रवक्ता ज्ञवालीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको पक्षमा नरहेको पनि जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिन लागेको विषयले विभिन्न प्रश्न जन्माएको पनि उहाँको भनाइ छ । एमालेले प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णय गर्नुका पछाडि एमालेलाई फुटाउने उद्देश्य रहेको ठहर समेत गरेको छ ।

आज ललितपुरको च्यासलमा रहेको तुलसी स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले एमाले विभाजन गराउने प्रयासबाट आजै विश्वासको मत लिने निर्णय गरेको निष्कर्ष निकालेको हो । पार्टी प्रवक्ता ज्ञवालीले नेता नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउन गरिएको पछिल्लो प्रयास पनि असफल भएको जानकारी दिनुभयो । आजको स्थायी कमिटी बैठकमा पनि एमालेका वरिष्ठ नेता नेपाल समूह अनुपस्थित भएको छ । यसअघि शुक्रबारको बैठकमा पनि नेपाल समूह सहभागी भएको थिएन ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया