कामकाज बन्द रहने सूचना टाँसी भित्रभित्रै घुस लिएर काम गरेकाे भन्दै मालपाेत कार्यालयमा धर्ना

 साउन ४, २०७८ सोमबार २०:२९:३४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – प्राविधिक कारण देखाइ कामकाज बन्द रहने सूचना टाँसेर कार्यालयभित्र घुस लिएर काम गरेकाे भन्दै आक्रोशित सेवाग्राही तथा लेखापढी व्यवसायीले साेमवार राजविराजमा रहेकाे भूमिसुधार तथा मालपोत कार्यालयमा चर्को नाराबाजी गर्दै धर्ना दिएका छन् । 

उनीहरूले दोषी कर्मचारीलाई कारबाही नगरिए भाेलि मङ्गलवार पनि कार्यालयको गेटमै धर्नामा बसी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । 

लेखापढी व्यवसायी सङ्घ मालपोत इकाइका सचिव बद्रीनारायण यादवका अनुसार नायब सुब्बा गयाप्रसाद यादवले कार्यालय खुल्नासाथ बिहान १० बजेतिर प्राविधिक कारणले कम्प्युटर फाँट एक दिनका लागि बन्द रहने सूचना टाँस्नुभएकाे थियाे । 

त्यस सूचनामा आर्थिक वर्ष २०७७/०७८ को मूल्याङ्कन कम्युटरमा प्रविष्ट गर्ने काम विभागको आदेशअनुसार एक दिनका लागि बन्द गरिएको उल्लेख गरिएको थियो । सूचना पढेर टाढा–टाढाबाट आएका धेरैजसाे सेवाग्राही घर फर्किए पनि केही सेवाग्राहीसँग घुस लिइ कार्यालयभित्र काम गरेको सचिव यादवले दाबी गर्नुभएकाे छ । उहाँले कम्प्युटर फाँटका कर्मचारीले सेवाग्राहीसँग १० देखि १५ हजार रुपैयाँसम्म घुस लिइ काम गरेको दाबी गर्नुभएकाे हाे ।  

यसबारे कार्यालयका नासु तथा कम्प्युटर फाँटका कर्मचारीसँग फाेन सम्पर्कको प्रयास गर्दा उनीहरू काम सकेर घर गइसकेको अर्का कर्मचारीले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले यस घटनाबारे आफूलाई पनि जानकारी आएको भन्दै यसबारे बुझ्ने काम भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया