मुख्यमन्त्री रोजगार कार्यक्रमको पैसा चेक साट्ने बित्तिकै जनप्रतिनिधिकै झोलामा !

 साउन ५, २०७८ मंगलबार १५:३:३९ | राजु लामिछाने
unn.prixa.net

बैंकमा चेक साट्न आएका स्थानीयवासी

कर्णाली – प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम यहाँका जनप्रतिनिधिले चेक साट्ने बित्तिकै पैसा फिर्ता लिने गरेका छन् । चौरजहारी नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले आफ्नो वडामा परेको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको दुई वटा योजनाको रकम विभिन्न व्यक्तिको खातामा जम्मा भएपछि बैंकमा बोलाएर पैसा फिर्ता लिने गरेका हुन् । 

प्राप्त जानकारीअनुसार स्वरोजगारका लागि फर्जी नाम दर्ता गराएर, कामै नगरेका विभिन्न व्यक्तिको बैंक खाता मागेर लाखौँ रकम बैंकमा जम्मा गरिएको थियो । त्यही रकम निकाल्न बैंकमा बोलाउँदै फिर्ता लिने गरिएको खातावालाहरूले बताएका छन् । 

आइतवार, सोमवार र मङ्गलवार तीन दिन वडाबाट बोलाइएका विभिन्न व्यक्तिले चौरजहारीमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकाल्ने बित्तिकै वडा सदस्य शशिराम नेपालीको झोलामा जम्मा गर्ने गरेका हुन् । नाम प्रकाशन नगर्ने सर्तमा एक खातावालाले भने, ‘मेरो खातामा ६४ हजार रुपैयाँ जम्मा भएको रैछ, सबै निकाले, पाँच हजार मलाई दिनुभयो, अरू सबै उहाँले झोलामा हाल्न लगाउनुभयो ।’ गाउँका सबैजसोले केही रकम खातावालालाई दिएर अरू सबै रकम जनप्रतिनिधिले फिर्ता लिएको उनले जानकारी दिए । 

बैंक खाताको रकम निकाल्ने बित्तिकै जनप्रतिनिधिले लिने गरेको सूचना पाएपछि त्यही वडाका राकेश मगर (नाम परिवर्तन) ले आफ्नो खातामा जम्मा भएको सरकारको रकम जनप्रतिनिधिलाई फिर्ता नदिने भन्दै बैंक नगएको बताउनुभयो । झन्डै दुई घण्टा हिँडेर घरबाट बैंक पुग्नुभएका राकेशले अर्को दिन आएर चेक साट्ने जनाउनुभयो ।   

व्यावहारिकता मिलाउन पैसा फिर्ता लिएका हौँ : जनप्रतिनिधि

यस विषयमा चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शशिराम नेपालीले व्यावहारिकता मिलाउन केही रकम फिर्ता लिइएको बताउनुभयो । उहाँले कालिका आधारभूत विद्यालयको फिल्ड तथा पर्खाल निर्माण र गेरुखोला सिँचाइ पोखरी निर्माणका लागि कार्यक्रम बताउँदै वडाबाट ४० जनाको नाम र खाता मिलाएर पठाएको र खातामा जम्मा भएको रकममध्ये केही रकम फिर्ता लिइएको प्रतिक्रिया दिनुभयो ।

बैंकमै बसेर चेक साट्ने बित्तिकै पैसा फिर्ता लिएको गुनासो छ, खास कुरा के हो ? भनेर सोधेको प्रश्नमा वडा सदस्य नेपालीले भन्नुभयो, ‘बजारमा योजनाको रकम तिर्नु थियो, कार्यवाहक वडाध्यक्ष देवी खड्का र एक जना शिक्षक पनि थियौँ । केही रकम व्यावहारिकता मिलाउन फिर्ता लिएका हौँ ।’ उहाँले त्यस योजनाका लागि बजारबाट सरिया, सिमेन्ट लिएको, बालुवा बोकेको गाडीलाई तिर्न बाँकी रहेकाले व्यवहारिक कुरा मिलाउन त्यसो गरिएको उहाँले जनाउनुभयो । आइतवार र सोमवार केही व्यक्तिले बैंक निकालेको र अब नौ जनाले मात्र रकम निकाल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । 

पाँच हजार रुपैयाँमात्र दिएर अरू रकम फिर्ता लिएको स्वीकार्दै सदस्य नेपालीले भन्नुभयो, ‘कसैले पाँच हजार लिए, कसैले बीस हजारसम्म पनि लिएका छन् ।’ उहाँका अनुसार वडा नम्बर ८ बाट परेका ४० जनामध्ये कममा ४६–४७ हजार र बढीमा ६४–६५ हजार रुपैयाँसम्म खातामा जम्मा भएको हो । 

स्थानीय आवश्यकता पूर्ति गर्न निर्देशिका मिच्नुपर्ने बाध्यता छ : उप–मेयर 

यस विषयमा चौरजहारी नगरपालिकाकी उप–मेयर राधा रोकाले उक्त वडामा दुई ओटा योजनाबापतको १० लाख रुपैयाँ नगरपालिकाबाट दिइएको र परिणाममुखी कामका लागि वडाले निर्देशिका मिचेको हुन सक्ने बताउनुभयो । विकास निर्माणको कामका लागि खरिद गरिएका विभिन्न सामग्रीको पैसा मेकअप गर्नका लागि काम नगरेकाहरूको पैसा फिर्ता लिइएको हुन सक्ने भन्दै उहाँले स्थानीयस्तरको आवश्यकताअनुसार अलिकति निर्देशिका मिचेर काम गर्नुपर्ने बाध्यता रहेको उपमेयर रोकाले उल्लेख गर्नुभयो । वडाले काम गरेको दिनको मात्रै दिने र अरू रकम फिर्ता दिने गरी पहिले नै जानकारी गराएको र बैंकमै जनप्रतिनिधि गएर पैसा फिर्ता माग्नु अलि गलत भएको उहाँको भनाइ छ । 

रोजगार कार्यक्रमबाट अन्त भन्दा नमुनायोग्य काम गरेको दाबी गर्दै उहाँले निर्देशिकालाई मात्र ‘फलो’ गर्न खोज्दा स्थानीय आवश्यकता पूरा गर्न गाह्रो भएको बताउनुभयो । कामै नगरेका मान्छेको खातामा पैसा हालेर फेरि फिर्ता माग्ने काम व्यावहारिकता मिलाउन गरेको भन्दै उहाँले त्यसको बचाउ गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया