काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
सुर्खेत – गएकाे आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।
सडक डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३/०७४ देखि निर्माण थालिएका ती पुल गएकाे वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली राजमार्गका धेरैजसाे ठाउँमा पक्की पुल नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्नुपरेको थियो । पुल नहुँदा वर्षाका बेला यात्रुलाई जोखिम बढेको थियो ।
सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले २०७४ साल जेठदेखि निर्माण थालिएका ती पुलमध्ये तिला खोलाबाहेक सबै पुल २०७७ साल पुस मसान्तमै सम्पन्न भएको जानकारी दिनुभयो । तिला खोला पुल २०७५ असारमा सम्झौता भइ २०७८ जेठमा सम्पन्न भएको हो ।
सडक डिभिजन कार्यालयका अनुसार कर्णाली राजमार्गमा कुवा खोला, काले खोला, पाल्तडा, कानेगाड, गुहेगाड, दही खोला, तिला खोला, छिडेना खोला, सिञ्जा, पातले खोला, लुम्चडी र माटे खोलामा पुल निर्माण पूरा भएका हुन् ।
४२ करोड ४५ लाख ४९ हजार चार सय ४४ रुपैयाँकाे लागतमा ती पुल निर्माण भएको कार्यालयले जनाएको छ । इन्जिनियर शर्माले पुल निर्माणका साथै धेरैजसाे ठाउँमा राजमार्ग मर्मत सुधार गर्ने कार्य सम्पन्न भएको बताउनुभयो । नाली खोल्नाका साथै भत्केको पर्खाल लगाउने, पहिरो पन्छाउनेजस्ता कार्य समयमै भएकाले यस पटकको वर्षामा राजमार्ग बन्द नभएको उहाँको भनाइ छ ।
यसैबीच यातायात व्यवस्था विभागले मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेखको साइँ गाउँमा सुविधा सम्पन्न 'रिफ्रेस सेन्टर' निर्माण गरेको छ । रिफ्रेस सेन्टरमा महिला–पुरुष र अपाङ्गतामैत्री शौचालय, खानेपानी, खाजा घर, यात्रु प्रतीक्षालय, गार्ड रुम, बाथरुम लगायतका संरचना निर्माण गरिएको छ ।
यातायात व्यवस्था विभागको तीन करोड ३५ लाख रुपैयाँ लागतमा मजदुर कन्स्ट्रक्शनले निर्माण जिम्मेवारी पाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।