तिला नदीमा पक्की पुल बनेपछि गाडी गुड्न थाले

 साउन ७, २०७८ बिहिबार १५:८:२५ | नेत्र शाही
unn.prixa.net

जुम्ला–जाजरकाेट जाेड्ने पक्की पुल, तस्बिर : नेत्र शाही/उज्यालाे

जुम्ला – जुम्लाबाट जाजरकोट जोड्ने तिला नदीमा पक्की पुल बनेपछि गाडी गुड्न थालेका छन् । तिला गाउँपालिका त्रिवेणीमा पुल निर्माण भएको हो । कर्णाली राजमार्गदेखि जुम्लाको भेरी खोला र जाजरकोटसम्म यात्रा सजिलो हुने भएको छ । 

कर्णाली प्रदेशमै पहिलो पटक फरक र जटिल तरिकाबाट पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । पुलको लम्बाइ ५२ दशमलव १५ मिटर रहेको छ । 

पूर्वाधार विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रूपबहादुर रावलका अनुसार चार करोड १२ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको छ ।  २०७३  साल असार ५ गते पुल बनाउनका लागि सम्झौता भएको थियो । ठेक्का नम्बर ०२/एनएलबी आरसीसी ब्रिज २०७२/०७३ को २०७५ सालमा फेरि म्याद थप गरिएको थियो ।

तत्कालीन प्राविधिक कार्यालयले सुरु गरेको यस पुलकाे काम २०७५ साल जेठ ३१ गते सम्पन्न हुनुपर्नेमा अलपत्र परेपछि सङ्घीय संरचनापछि यसले पुनर्जीवन भएकाे हाे । 

पक्की पुल निर्माण भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुसी भएका छन् । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले लामो समयको पर्खाइपछि पुल बन्दा खुसीको सीमा नभएको बताउनुभयो । पुल बनेपछि जाजरकोट जान सजिलो हुने योगीले प्रतिक्रिया दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया