मन्त्री, सीडीओ र अरूलाई बाँड्ने भन्दै डिभिजन वन कार्यालय प्रमुखले ‘घुस’ लिएको आरोप

 साउन ८, २०७८ शुक्रबार १५:१९:३५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वको डिभिजन वन कार्यालयका प्रमुखले कार्यालयबाट दिइने विभिन्न सिफारिसका लागि घुस लिने गरेको आराेप लागेकाे छ । कार्यालयका प्रमुख जीवन पंगेनीले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि अनुमति पुर्जी दिनलाई निवासमै बोलाएर सेवाग्राहीसँग खाजस्व (घुसको रकम) लिएको बताइएको छ ।   

पुथा उत्तरगंगा गाउँपालिकाको पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलनका लागि नियमअनुसार राजस्व तिरेर वन कार्यालयको पुर्जी लिन गएका सेवाग्राहीसँग कार्यकक्षमा हो–हल्ला हुन्छ भन्दै डिभिजन वन कार्यालय प्रमुखले निवासमा बोलाएर घुस लिने गरेको आरोप लागेको हो । डिभिजन वन प्रमुख पंगेनीले जति राजस्व तिरेको हो, त्यति रकम दिनु भनेर सेवाग्राहीसँग घुस मागेको अडियोसमेत उल्यालोलाई प्राप्त भएको छ । 

वन कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि प्रतिकेजी ३० हजार रुपैयाँ राजस्व लिने गरेको छ । त्यो राजस्व बैंक खातामा जम्मा गरेको भौचर देखाएपछि प्रमुख पंगेनीले त्यति नै आफूलाई चाहिने नत्र काम नहुने भन्दै घुस माग्ने गरेका हुन् । शुक्रवार उज्यालोको सम्पर्कमा आएका सेवाग्राहीले फाँटका कर्मचारीसमेतको मिलोमतोमा ठूलो रकम असुल भइरहेको बताए । 

निवेदनमा तोक लगाउन निवासमै पठाएका कर्मचारीले समेत प्रमुखले रकम बार्गेनिङ गरेपछि काम गर्ने गरेका छन् । क्वाटरमा जाँदा राजस्व बराबरको खाजस्व पनि दिनुपर्ने, नदिएमा पुर्जी नदिने र यार्सा सङ्कलनका लागि आह्वान गरेको सूचना बन्द गरिदिने प्रमुख पंगेनीले बताएकाले आफूले बाध्य भएर घुस दिनुपरेको सेवाग्राहीले बताएका छन् । 

यत्रो रकम त नमाग्नु्स न ! भनेर सेवाग्राहीले भन्दा कार्यालय प्रमुखले मन्त्री, सीडीओ, पत्रकार, फाँटका सबै कर्मचारीलाई दिनुपर्छ भन्दै यो कार्यालयको नियम भएको समेत बताउनुभएको सार्वजनिक भएको छ ।प्राप्त अडियो रेकर्डमा ‘लेखेको नियम एउटा छ, भित्रको नियम एउटा छ, यस्तै चल्छ, तपाईँले दिएको रकम मलाई, अरू कर्मचारी र माथिकालाई पनि दिनुपर्छ’ भनेर प्रमुख पंगेनी बोलेको सुन्न सकिन्छ । 

कसैले पनि खुलाउन नसकेको यार्सा सङ्कलनको अनुमति आफूले माथिका मान्छेलाई मिलाएर खुलाएको भन्दै प्रमुख पंगेनीले ‘माथिकाले हामीलाई नि चाहिन्छ भनेकाले तपाईँसँग मागेका हौँ, अरूले दिएका छन्, अब छुट पुर्जी लिने बेलामा हामीलाई दिनुपर्दैन भन्दै घुस पाएपछि तत्कालै काम गरिदिएको’ नाम प्रकाशन नगर्ने सर्तमा एक सेवाग्राहीले बताए । 

सेवाग्राहीसँग घुस लिएर काम गरेको विषयमा डिभिजन प्रमुख जीवन पंगेनीले आफूले नलिएको तर लाखौँको कारोबार गर्दा कोही–कसैले त्यस्तो आशा गरेको हुन सक्ने बताउनुभयो । कागजात नमिलेको, मुचुल्का गर्नुपरेको बेला अलि–अलि मागेका होलान् भन्दै प्रमुख पंगेनीले आफूले नियमअनुसार नै काम गरिरहेको बताउनुभयो । फाँटमा सबैले देख्छन् भनेर निवासमै बोलाएर राजस्व बराबरको खाजस्व चाहिन्छ, सबैलाई मिलाउनुपर्छ भन्दै मागेको रकमबारे उहाँले कुनै जवाफ दिनु भएन ।

प्रमुख पंगेनीका अनुसार अहिलेसम्म यार्सागुम्बा सङ्कलनका लागि झन्डै २० किलोको पुर्जी प्रदान गरिएको छ । एक किलोको ३० हजार रुपैयाँ राजस्व तिरेका व्यवसायीले प्रतिकिलो ३० हजार रुपैयाँ अवैध रूपमा वनका कर्मचारीलाई दिन बाध्य भएको बताएका छन् । 

यस विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले तुरुन्तै बुझेर थप कुरा गर्ने प्रतिक्रिया दिनुभयो । उहाँले घुस लिएर काम गर्नेलाई नियमअनुसार कारबाही गरी छाड्ने प्रतिबद्धता जनाउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया