पार्टी एकताभन्दा बाहिर जाने अनुमति कसैलाई छैन : दुवै पक्षका सांसद (एमाले)

 साउन १०, २०७८ आइतबार २०:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका दुवै पक्षका सांसदले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका छन । १० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले संयुक्त रूपमा दबाब दिन सुरु गरेका हुन् । 

आइतवार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यसँग भेट गरी उनीहरूले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउन आफूहरूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टी एकतालाई मजबुत बनाउन दबाब अभियान सुरु गरिएको सांसद कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी एकतालाई मजबुत बनाउनका लागि हामी दबाब दिन्छौँ । त्यसका लागि सल्लाह पनि दिनेछौँ । विघटित पार्टी एकता कार्य दललाई विश्वास पनि गर्दछौँ । शीर्ष तहमा समस्या समाधान हुन्छ भने त्यसलाई पनि मिलाउनुहोस्, हामी तपाईँहरूको साथमा छौँ । पार्टीभित्रको समस्या समाधान भन्दा बाहिर, पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन । हामी जान दिँदैनौँ ।’

सांसदहरूले देश, नागरिक र लोकतन्त्रका लागि पनि एमाले विभाजित हुन नहुने तर्कसमेत गरेका छन । उनीहरूले विघटित पार्टी एकता कार्य दलका नेतालाई पार्टी एकताभन्दा बाहिर जाने अनुमति नभएकाे भन्दै सचेत गराएका छन । छलफलमा विघटित पार्टी एकता कार्य दलका संयोजक तथा सदस्यले १० बुँदे सहमतिको महत्त्व र त्यसको कार्यान्वयनका आवश्यकताबारे सांसदलाई जानकारी गराएका थिए । 

१० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाउन सांसदले आफूहरूलाई आग्रह गर्नुभएको विघटित कार्य दलका माधव नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिनुभयो । उहाँले पार्टी एकताबद्ध हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया पनि दिनुभयो । ‘हामीले १० बुँदे सहमतिको महत्त्व र त्यसको कार्यान्वयनको स्थितिबारे उहाँहरूलाई जानकारी गरायौँ र उहाँहरूले पार्टीलाई एक मतले एकताबद्ध बनाएर अघि लैजान जोड दिनुभयो । त्यसका लागि उहाँहरूले सङ्घीय संसदका पार्टीका सबै सांसद कटिबद्ध भएर लागिपर्ने बताउनुभयो । १० बुँदे सहमति कार्यान्वयनमा पनि भूमिका खेल्नुस् भन्नुभयो । हामीहरूले एमाले एकताबद्ध भएर अघि बढ्ने विश्वास दिलायौँ’, नेता रावलले भन्नुभयाे । 

बैठकमा विघटित कार्य दलका माधव नेपाल पक्षका संयोजक रावल, अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङसहित कार्य दलका सदस्य सहभागी थिए भने दुवै पक्षका केही सांसदको पनि उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया