‘काेराेना, बाढी–पहिराे पीडितका लागि सरकारले तत्काल गाँस र बासकाे व्यवस्था गराेस्’

 साउन ११, २०७८ सोमबार १५:५३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाका सांसदहरूले कोरोना, बाढी र पहिरो पीडितका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमवारको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना, बाढी र पहिरो पीडित भोकभोकै मर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरूका लागि आवश्यक गाँस र बासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नुभयो । 

कोरोना, बाढी, पहिरो पीडितले कतिपय ठाउँमा भोकभोकै मर्नुपर्ने अवस्था आएको छ, उहाँले भन्नुभयो, त्यस्ता पीडितका लागि तत्काल गाँस र बासको व्यवस्था गर्न म सरकारसँग जोडदार माग गर्दछु । सांसद ज्वारचनले समितिले पनि बाढी, पहिरो र कोरोना अति प्रभावित क्षेत्रको अनुगमन गरी उनीहरूलाई राहत दिन सरकारलाई सचेत गराउन ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।

नेकपा एमालेकी सांसद एवम् पूर्वमन्त्री थममाया थापाले कोरोनाको सम्भावित तेस्रो लहरबाट क्षति हुन नदिन सरकारलाई सचेत गराउनुभयो । बालबालिकाहरू दुर्व्यसनीमा फस्ने क्रम कोरोना कालमा झनै बढ्दै गएको उल्लेख गर्दै उहाँले त्यसो हुन नदिन सरकार सजग हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । सांसद थापाले भन्नुभयो, कोरोनाको सम्भावित तेस्राे लहरबाट बच्न विज्ञसँग छलफल गरी सरकारले योजना ल्याउनुपर्दछ ।

समितिकी अर्का सदस्य एवम् कांग्रेस सांसद हिरा गुरुङले बालिकाहरूमाथि बलात्कारपछि हत्या गर्ने क्रम बढिरहेकोमा आक्रोश व्यक्त गर्दै पीडितलाई न्याय दिने काममा ढिलाइ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले अझै न्याय नपाएको दृष्टान्त समितिको बैठकमा पेस गर्दै पीडितलाई न्याय दिने काममा सरकार गम्भीर नभएको आरोपसमेत लगाउनुभयो ।

बैठकमा अमृता थापामगर, विमला विश्वकर्मालगायतका सांसदले सामाजिक कलङ्कको रूपमा रहेको छाउपडी प्रथा, बोक्सी, दाइजो दिने जस्ता काम अन्त्य गर्न सामाजिक अभियान नै चलाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएका थिए ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया