बिजुलीको भाउ घटाउनुपर्छ, गरिबलाई निःशुल्क : ऊर्जा मन्त्री भुसाल

 साउन ११, २०७८ सोमबार १५:४९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको भाउ घटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री भुसालले देशमा बिजुली खपत भएन भनेर चिन्ता लिइरहँदा बिजुलीको महसुलबारे पनि सोच्नुपर्ने बताउनुभएको हो । 

अरू क्षेत्रमा उत्पादन बढ्दै जाँदा भाउ घट्ने तर ऊर्जा क्षेत्रको उत्पादन बढ्दै जाँदा भाउ नघट्ने विषय असुहाउँदो भएको भन्दै मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना बनाउनुपर्ने र आफूले पनि यो विषयमा सल्लाह सुरु गरिसकेको बताउनुभयो । उहाँले बिजुली खपत बढाउनका लागि भाउ घटाउने र ग्यासको विकल्पमा प्रयोग बढाउनका लागि विद्युतीय सामग्रीको भन्सार छुटको सहुलियत दिनुपर्ने बताउनुभयो । 

मन्त्री भुसालले गरिब नागरिकलाई निःशुल्क बिजुली दिन सरकार तयार रहेको पनि बताउनुभएको छ । उहाँले अहिले पनि कतिपय नागरिकले महसुल तिर्न नसकेकै कारण बिजुली जोड्न नसकेको बताउँदै त्यस्ता नागरिकलाई सरकारले निःशुल्क बिजुली दिने दाबी गर्नुभयो । 

राष्ट्रिय प्रसारण पुगेका र छिटै पुर्‍याउन सकिने ठाउँमा राष्ट्रिय प्रसारण लाइनकै बिजुली दिइने र तत्काल सम्भव नभएका ठाउँमा लघु जलविद्युत् या वैकल्पिक ऊर्जाको व्यवस्था गरिने उहाँले बताउनुभयो । उद्योगहरूको मागअनुसार बिजुली दिन सकेमा खपत बढ्ने तर त्यसका लागि प्रसारण लाइन र सबस्टेशनको समस्या भएकाले त्यसतर्फ ध्यान दिएर काम गर्ने मन्त्री पम्फा भुसालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Ganga

    July 26, 2021, 4 p.m.

    गफै त हो यो ... नागरिक झुक्याउने त हो नि .....पहिले काम गर्नु, अनि कुरा गरे सुहाउँछ /

  •  0 Reply

तपाईको प्रतिक्रिया