काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
कास्की – पर्यटकीय नगरी पोखराको मुख्य ठाउँ सिर्जना चोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारी साधनको चापलाई दृष्टिगत गर्दै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो ।
कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत ५० लाख रुपैयाँ विनियोजन गरेसँगै सिर्जना चोकमा आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो ।
महानगरपालिकाको दुई करोड १५ लाख रुपैयाँको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनियर राजु रेग्मीले जानकारी दिनुभयो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको याे आकाशे पुल जिल्लाकै पहिलो भएको जनाउँदै उहाँले भन्नुभयो, पुलको रङ्गरोगन र सिसाको छानो राख्नेबाहेक सम्पूर्ण निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आएको हो ।
इञ्जिनियर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारैतर्फबाट ओर्लन मिल्छ । आकाशे पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ ।
महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणका लागि केएम जेबीएनएस पोखरा जेबीसँग सम्झौता भएको यस पुलको निर्माण कार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । विश्वव्यापी रूपमा फैलिएकाे कोरोना भाइरस सङ्क्रमणका कारण निर्माण कार्य ढिला भइ एक वर्षपछि सम्पन्न भएको हो ।
पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालका अनुसार सबैको चासो र चर्चामा रहेको यस आकाशे पुलमा दिनभरि पैदल यात्रु एवम् साँझपख सर्वसाधारणको घुइँचो नै लाग्ने गरेको छ । पोखरा–बाग्लुङ सडकको प्रवेशद्वारका रूपमा रहेको यस आकाशे पुलमा विशेष गरी साँझपख दृश्यावलोकन एवम् सेल्फी खिच्नेको भिड देखिने गरेको उहाँको भनाइ छ ।
यस पुलमा यतिखेर नेपालकै पर्यटकीय राजधानी पोखराका मुख्य बजारका चोकमा दिनानुदिन जनसङ्ख्यासँगै सवारी साधनको चापका कारण व्यस्त पृथ्वी चोक, महेन्द्र पुल, विरौटा चोक, राष्ट्र बैंक चोक, अमरसिहं चोक, सभागृह चोकलगायतका विभिन्न ठाउँमा आकाशे पुल निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्न थालिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) अम्रित बस्नेतका अनुसार पोखराका मुख्य चोकमा आकाशे पुल निर्माणले सवारी दुर्घटनामा केही हदसम्म भए पनि कमी हुने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।