‘दुवै पक्षका शीर्ष नेताले पार्टी एकता बिथाेलिने गरी अभिव्यक्ति दिनु भएन’

 साउन ११, २०७८ सोमबार १९:४०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय नेताहरूको आइतवार र साेमवार काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक हाेटलमा बसेको स्थायी कमिटीका नेताहरूको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुङ्गोमा पुर्‍याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो । 

बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गरेको छ ।

‘पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक छन् । ती प्रयासलाई छिटो टुङ्गोमा पुर्‍याउनका लागि थप प्रयास गरौँ भन्ने कुरा भयो । सबै नेताले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्’, नेता रघुजी पन्तले बैठकपछि प्रतिक्रिया दिँदै भन्नुभयो, ‘तर दुवै पक्षका शीर्ष नेताले पार्टी एकताका लागि भएका प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति दिनु भएन । नेकपा एमालेका देशभरिका कार्यकर्ता, मतदाता र देशकाे राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने नागरिक एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ । त्यसैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ ।’

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शीर्ष नेतालाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिनुभयो । पार्टीलाई एकताबद्ध बनाउँदै देशव्यापी रूपमा सशक्त ढङ्गले अघि बढ्न आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।

बैठकमा संविधानको रक्षा, प्रतिनिधि सभाको पुनर्स्थापनासँगै कसरी प्रभावकारी काम अघि बढाउने भन्ने विषयमा पनि नेताहरूले छलफल गरेका थिए ।

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया