बैठक चलिरहेका बेला प्रधानाध्यापकलाई ढुङ्गाले हानेर शिक्षक भागे

 साउन १२, २०७८ मंगलबार १९:४८:७ | राजु लामिछाने
unn.prixa.net

आक्रमणमा घाइते भएका प्रधानाध्यापककाे उपचार हुँदै

रुकुम पश्चिम – विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला रुकुम पश्चिममा एक विद्यालयका प्रधानाध्यापकमाथि आक्रमण भएको छ । हिजाे साेमवार प्रगतिशील आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ८ का प्रधानाध्यापक दीपबहादुर खड्कालाई त्यही विद्यालयका शिक्षक दिनेश खड्काले आक्रमण गरेर घाइते बनाएका हुन् । 

आफूविरुद्ध व्यवस्थापन समितिको बैठकमा कुरा उठाएको भन्दै बैठक चलिरहेका बेला ढुङ्गा र मुक्का प्रहार गरी प्रधानाध्यापकलाई घाइते बनाएको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको र आक्रमणकारी भागेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । उहाँले घटनाको थप अध्ययन भइरहेको जानकारी दिनुभयो ।

सङ्घीय अनुदान कोटामा गएकाे माघमा करारमा नियुक्त भएका दिनेशले विद्यालयको खाताबाट अनधिकृत रूपमा रकम निकासा गरेपछि बैठकमा कुरा उठाउँदा आफूमाथि आक्रमण भएको प्रधानाध्यापक खड्काले जानकारी दिनुभयो । 'गएकाे वैशाख १२ गते दिनेशले एक लाख पचास हजार रुपैयाँ मलाई र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई झुक्याएर निकासा गरेको पाइयो', घाइते प्रधानाध्यापक खड्काले भन्नुभयो, 'त्यही विषयमा कुरा उठाउँदा बाहिरबाट ढुङ्गा ल्याएर म कुर्सीमै बसिरहेका बेला प्रहार गरे, बैठकमा बसिरहेका सबैले उनलाई रोकेपछि म बाँचेको हुँ ।'

घाइते प्रधानाध्यापक खड्काको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । उहाँको छाती र पेटमा चोट लागेको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया