जुम्ला : छुमचाैरमा बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाकाे ज्यान गयाे

 साउन १४, २०७८ बिहिबार ६:४८:४९ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको छुमचौरमा भीषण वर्षापछि आएको बाढीले घट्ट बगाउँदा अपाङ्गता भएकी एक महिलाकाे ज्यान गएकाे छ। बाढीले घट्ट बगाउँदा जुम्ला पातारासी गाउँपालिका वडा नम्बर ३ की ३५ वर्षीया शर्मिला बुढाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

शारीरिक रुपमा अपाङ्ग र बोल्न नसक्ने  महिलालाई बाढीले बगाएकाे प्रहरी निरीक्षक तथा सूचना अधिकारी यौवन चौधरीले बताउनु भयाे। पातारासी गाउँपालिकाका वडाध्यक्ष बिर्खराम बाेहराका अनुसार बाढी आएपछि दौडन नसकेर उहाँलाई बगाएकाे हाे ।  

उहाँसँगै घट्ट गएका मुनसोभा बाेहरा र जसकला रावत  भने भागेर बाँच्न सफल भएका छन् । बाढीले  बगाएर ज्यान गुमाएकी महिलाकाे शव भेटिएर दाहसंस्कार गरिएको वडाध्यक्ष बाेहराले बताउनु भयाे।

बाढीले अहिलेसम्म करिब ६ वटा घट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएकाे वडाध्यक्ष बहोराले जानकारी दिनुभयो । बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएकाे उहाँले बताउनु भएकाे छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया