सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै उखु किसान काठमाण्डौमा

 साउन १४, २०७८ बिहिबार ९:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै उखु किसान फेरि काठमाण्डौ आएका छन् ।

चिनी मिलबाट अझै १५ करोड भुक्तानी नपाएपछि सरकारलाई दबाब दिन काठमाण्डौ आउनुपरेको उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले बताउनुभयो । 

गएको पुसमा उखु किसानले काठमाण्डौमा आन्दोलन गरेपछि चिनी मिलले केही रकम मात्रै भुक्तानी गरेका थिए । १६ दिनको आन्दोलनपछि सरकार र उखु किसान सङ्घर्ष समितिबीच ४ बुँदे सहमति भएको थियो । त्यसअघि २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौता भएको थियो ।

माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भए पनि सबै रकम भुक्तानी हुन नसकेको उखु किसानको गुनासो छ ।

यसअघि काठमाण्डौ आउँदा विपक्षीमा रहेको कांग्रेसले माग पूरा गर्ने आश्वासन दिएको र अहिले कांग्रेस नेतृत्वमै सरकार बनेकाले ध्यानाकर्षणको लागि काठमाण्डौ आएको मिश्रले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया