व्यङ्ग्य : दही–चिउरापछि खिरमा टिकटक !

 साउन १६, २०७८ शनिबार ९:१९:१० | मिलन तिमिल्सिना
unn.prixa.net

‘साउनमा त खिर पो खाँदा रैछन् है ममी ! हाम्रोमा कहिले बनाउने ?’ अनलाइन पढ्दै गरेकी छोरी मोबाइल हेर्दै भान्छाभित्र पसिन् ।

‘कसरी थाहा पाइस् नि ?’ तरकारी बसालेर मोबाइल नै खेलाउँदै गरेकी आमाले सोधिन् ।

‘टिकटकमा हेरेर नि । टिकटकमा पल्लोघरकी अन्टीले कस्तो मिठो खिर बनाएर राख्नुभएको थियो ।’

‘टिकटकमा देखेको खिर मिठो थियो कि नमिठो कसरी थाहा हुन्छ ? जे पनि भन्छे !’

‘अघिल्तिर टेबलमा खिर राखेर मस्कँदै कम्मर मर्काउँदै हुनुहुन्थ्यो । मिठै भएर त होला नि त्यसरी कम्मर मर्काएको ।’

‘ए त्यसो भए त्यो मोरीले टिकटकमा खिर राख्न भ्याइसकी है ! असारमा त त्यसले भन्दा पहिले टिकटकमा दही चिउरा खाएको मैले राखेथेँ । खिरमा त्यसले जितिछ । ठिकै छ ।’

‘यहाँ हेर्नुस् न, हाम्री मिसले पनि खिर खाएर तीजको गीतमा नाच्दै गरेको फोटो राख्नुभएछ ।’

‘कति टिकटक मात्रै हेरेर बस्छेस् हँ ? तेरो मिसलाई पनि पढाउनु पर्दैन कि क्या हो, खाली टिकटक बनाएर मात्रै बस्ने रैछिन् त ।’

‘अनलाइन क्लास पढाउन थालेपछि त सरमिस, हामी सबैले टिकटक बनाउन सिक्यौँ नि ।’

‘ल ल धेरै बाठो हुने होइन । खाली टिकटक भन्या छ मोबाइल क्याचक्याच थिच्या छ । मस्केको छ, उफ्रेको छ । पढ्ने लेख्ने होइन । खुरुक्क पढेर बस्ने त्यहाँ ।’ छोरीलाई टिकटक नहेर्न भन्दै आमा मोबाइलमा टिकटक हेर्दै पल्लो कोठामा पसिन् । श्रीमान पनि टिकटकमा दोहोरीको टुक्का हेरेर हाँस्दै थिए ।

‘ल हेर खिरको कति धेरै टिकटक । यसपालि म मात्रै पछि परेँ । सुन्नुस् त पसल गएर दुई लिटर दूध लेराउनुस् त । खिर बनाएर टिकटकमा राख्नुपर्यो ।’

‘खिर बनाएर टिकटकमा राख्ने हो कि खाने हो ?’ 

‘पहिले टिकटक बनाउने, अनि खाने । टिकटक नबनाइ खाएको पनि पच्छ र ?’

‘ल ल लेराउँला कति लिटर ल्याउने नि दूध ?’

‘लेराउनु न, तीन चार लिटर ।’

‘ममी ममी दूध चाहिँ कहाँबाट आउँछ ?’ त्यहीँ कोठामा अनलाइन पढिरहेको सानो छोरोले सोध्यो ।

‘डेरीबाट आउँछ नि ।’

‘अनि डेरीमा चाहिँ कहाँबाट लेराउँछन् नि दूध ?’

‘खै पहिलेपहिले त गाईभैँसी दुहेर ल्याउँथे के रे । अहिले त खै कहाँबाट लेराउछन्, मलाई पनि थाहा छैन ।’

‘गाईभैँसी चाहिँ कस्तो हुन्छ ?’

‘किताब हेर न त्यहीँ छ त गाईभैँसीको फोटो ।’

‘तपाईंले पनि किताबमै हेरेर थाहा पाएको हो ?’

‘तिमीहरुले जस्तो कहाँ किताबमा मात्रै हेरेर बस्न पाइयो र ? उबेला गाईभैँसी चराउनुपर्थ्यो, घाँस भकारो गर्नुपथ्र्यो । दूध दुहुनुपर्थ्यो । एकचोटी गोबर सोहोर्दा महिना दिनसम्म हात गन्हाउँथ्यो । अहिले त सम्झँदा पनि घिन लाग्छ ।’

‘अहिले चाहिँ कसले सोहर्छ त गोबर ?’

‘खै तेरै हजुरबा, हजुरआमाहरुले सोहोर्नुहुन्छ होला नि गाउँमा ।’

‘अस्ति हजुरआमाले गाउँबाट घिउ पठाउनुभएको हाम्रै घरको गाईको हो ?’

‘खै होला त ।’

‘घिउ त मिठो थियो है ममी । तर घिउ खाँदा त गोबर गन्हाएन नि !’

‘दूध, दही, घिउ, खिरमा त कहाँ गोबर गन्हाउँछ त ?’

‘अनि हजुरआमाले पनि हातले गोबर सोहोर्नु भएको हैन र ? गोबर सोहोर्दा हात गन्हाउनुपर्ने, अनि त्यही हातले बनाएको घिउ पनि गन्हाउनुपर्ने हो नि ?’

‘आ...यो केटो पनि के के मात्रै सोध्छ ? गोबर सोहोर्दा गन्हाउँछ, घिउ खाँदा गन्हाउँदैन !’

‘अनि नि ममी......’

‘ल ल अब चुप लाग । बरु एउटा भिडियो खिच त यो तरकारी र मेरो आउने गरी । खिरभन्दा पहिले तरकारी राख्नुपर्यो टिकटकमा ।’

‘ममी तरकारी चाहिँ गमलामा फल्छ हो ?’

‘हो हो गाउँमा खेतबारीमा फल्छ । सहरमा चाहिँ गमलामा ।’ 

‘अनि गाउँमा त कसैले पनि तरकारीको फोटो र भिडियो फेसबुक र टिकटकमा राख्दैनन् त । सहरमा चाहिँ जसले पनि भिडियो र फोटो बनाएर राखिहाल्ने किन होला ?’

‘खेतबारीमा फलेको पनि के भिडियो र फोटो बनाउनु त ? गमलामा फलाएको फोटो राम्रो हुन्छ, त्यसैले नि । ल ल यो घिरौँलाको फूल र मेरो कपालको फूलसमेत देखिने गरी भिडियो बनाउ है ।’

‘उ बाबाले दूध लेराउनुभयो ।’

‘के हो बाबा डेरीको साहुनीसँग दूध किनेको पनि भिडियो बनाएर टिकटकमा हाल्नुपर्छ’ छोरी मोबाइल हेर्दै आइपुगिन् ।

‘यो मान्छेको काम छैन, जहाँ पुग्यो त्यहीँ टिकटक’ श्रीमतीले आँखा तरिन् ।

‘अँ तिमी नि तिमी.....कहिले भोगटे बोकेर टिकटक बनाएको छ, कहिले सुन्तला समातेर टिकटक बनाएको छ । कहिले कुनि के जाति यसपालिको तीज पुतली भनेर नाचेको छ।’

‘बनाउँछौँ त के। हैन त छोरो ? ल ल दूध दिनुहोस् अब खिर बनाउनुपर्छ’ भन्दै श्रीमती भान्सामा पसिन् ।

‘साउनमा खिर खानुपर्छ हो बाबा ?’ 

‘त्यसै भन्छन् । गाउँमा हुँदा असार साउनमा दूध पाउनै मुश्किल । गाउँका सबैले पालैपालो हरेक घरबाट दूध जम्मा पारेर खिर खाने चलन थियो । अहिले सहरमा आनन्द छ । खल्तीमा गाँठ भए जतिखेर पनि भने जति दूध पाइन्छ । त्यसैले खानुपर्छ नि । टिकटक बनाउन पनि पहिले खिर बनाउनुपर्छ ।'

‘ल ल ममी खिर पाक्यो हैन ? खाउँ न त’ छोरी भान्सामा पसिन् ।

‘पहिले खाने कि टिकटक बनाउने ?’

‘टिकटक बनाउने नि !’

‘ल म पस्केर टेबुलमा राख्छु । अनि भिडियो खिच्ने है त !’

‘खै यहाँबाट त राम्रो आएन...म टेबुलमै बसेँ है । ल खिच्नु त पहिले मेरो’ भन्दै श्रीमती मोबाइलतिर हेर्दै टेबुलमा बस्न मात्रै लागेकी थिइन्, टेबुलको एउटा खुट्टा कोल्टे परेर खिर र मान्छे गर्ल्यामगुर्लुम भुइँमा !

‘थुक्क...सत्यानाश नै भइहाल्यो नि....हेर त खिर त राजाको माल खरानी भयो । लौ तिम्रो हातमा पनि तातो खिरले पोलेजस्तो छ’ श्रीमानले हत्तपत्त उठाए ।

‘भिडियो त बन्यो नि हैन....ल ठिक छ, टिकटकमा झन् धेरै भ्युज आउँछ’ श्रीमती हात सुम्सुम्याउँदै उठिन्।

अन्तिम अपडेट: चैत १६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • प्रदिप पौडेल

    Aug. 2, 2021, 8:16 p.m.

    अहिलेको समसमायिक बिषयमा र नेपाली हरुले दुरुपयोग गरेका प्रविधिको बारेमा राम्रो ब्यङ गर्नुभयो। मलाइ सार्है मन पर्यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया