बेपत्ता छोराकी आमा भन्छिन् : अहिले पनि छोरा फर्केर आउँछ कि भन्ने आश लाग्छ

 भदौ १४, २०७५ बिहीबार १५:३१:५७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – आज ३५ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवस हो । सन् २०१० पछि संयुक्त राष्ट्र संघले हरेक वर्ष बेपत्ता पारिएकाहरुको सम्झनामा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाउँदै आएको छ । 

नेपालमा पनि सशस्त्र द्वन्द्वका बेला सयौँ नागरिक बेपत्ता पारिएका छन् । तर उनीहरुको अवस्था बुझ्नका लागि राज्यले विशेष पहल गरेको देखिँदैन । 

यसै सन्दर्भमा दश वर्षे सशस्त्र द्वन्द्वको उद्गम जिल्ला रोल्पाका बेपत्ता पारिएका व्यक्तिका परिवारहरुले आफ्ना सदस्यको अवस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् । 

शान्ति प्रक्रिया सुरु भएको १२ वर्ष बितिसक्दा पनि सरकारले बेपत्ता पारिएका आफन्तहरुको बारेमा खोजबिन गर्न बेवास्ता गरेको भन्दै पीडितहरुले गुनासो गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बेपत्ता छानबिन आयोग गठन भए पनि अहिलेसम्म आयोगले उजुरी लिने बाहेक कुनै काम गर्न नसकेकोमा आफूहरु निराश बनेको पीडितहरुले बताएका छन् ।

सरकारले आफ्ना बेपत्ता आफन्तको बारेमा तत्काल छानबिन गरी उनीहरुको अवस्थाबारे जानकारी दिनुपर्ने द्वन्द्वपीडित मेघमाली बुढाले बताउनुभयो । सशस्त्र द्वन्द्वका क्रममा आफ्नो छोरालाई बेपत्ता पारिएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘अहिले पनि छोरा फर्केर आउँछ कि भन्ने आश लाग्छ ।’  बुढाले द्वन्द्वका क्रममा श्रीमान पनि गुमाउनु भएको छ ।

रोल्पा जिल्लामा सशस्त्र द्वन्द्वको समयमा १ सय १७ जना व्यक्ति बेपत्ता पारिएको भन्दै आफन्तहरुले खोजबिनको लागि बेपत्ता छानबिन आयोगमा उजुरी दिएका छन् । 

आयोग गठन भएको ४ वर्ष पुग्न लाग्दा समेत पीडितहरुको उजुरीमाथि छानबिन हुन नसक्नु दुखद विषय रहेको मानवअधिकारकर्मी खेम बुढाले बताउनुभयो । 

बेपत्ता पारिएका व्यक्तिको बारेमा विस्तृत शान्ति सम्झौतामै पीडित परिवारलाई न्याय दिलाउनु भनिएकाले पनि यसबारे सरकारले आयोग गठन गर्ने मात्र नभई आयोगका लागि सम्पूर्ण कानुनी प्रावधान बनाई तत्काल पीडितहरुको उजुरीलाई किनारा लगाउनु पर्ने उहाँको भनाई छ ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया