महोत्तरीको गौशालामा रातारात हिलाेमै 'पिच' गरिएपछि...

 साउन २६, २०७८ मंगलबार १८:०:४४ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – महोत्तरीको गौशालामा गुणस्तरहीन तरिकाले रातारात कालोपत्र (पिच) गरेपछि स्थानीयहरू आक्रोशित बनेका छन् । गौशालाकाे निगौल चाेकदेखि पश्चिम मरहा नदीको पुलसम्मको सडक खण्डमा कालोपत्र गरेको १२ घण्टा नबित्दै उप्कन थालेपछि स्थानीयवासीले आज मङ्गलवार बिहानैदेखि निर्माण कार्य अवरोध गरेका छन् ।   

मङ्गलवार दिउँसो स्थानीयवासीले गुणस्तरहीन तरिकाले सडक निर्माण भइरहेको सुइँकाे पाएपछि निर्माणका लागि सामग्रीसहित आएका प्राविधिकलाई गुणस्तरयुक्त सडक निर्माण गर्न माग गर्दै अवरोध गरेका हुन् । एक हजार एक सय मिटर लम्बाइ र ६ मिटर चौडाइ रहेको यस सडककाे रातारात विना मापदण्ड हिलाेमै कालोपत्र गरिएकाे हाे । 

हिजाे साेमवार राति सिमसिम पानी परिरहेकाे समयमा ठेकेदार कम्पनीका कामदारले रातारात कालोपत्र गरेका हुन् । लेभल नमिलाइ पानी परिरहेको समयमै रातारात कालोपत्र गर्नु विडम्बना भएकाे स्थानीयवासी बद्री ठाकुरले प्रतिक्रिया दिनुभयो । नयाँ सडक निर्माण गर्ने क्रममा डाइभर्सन गर्नुपर्ने, बेसको वरिपरि कम्तीमा दुई फिटसम्म ग्राभेल हालेर मात्र सडक कालोपत्र हुनुपर्ने भए पनि त्यस्तो नभएकाले फेरि पुनर्निर्माण गर्नुपर्ने उहाँकाे माग छ । 

पाँच इन्च माेटाइकाे कालाेपत्र हुनुपर्ने सडकमा मुस्किलले दुईदेखि तीन इन्चसम्म मात्रै माेटाइ भएकाे स्थानीयवासी लक्ष्मण महतोले बताउनुभयो । 

ठाउँको अभावका कारण आफूहरू डाइभर्सन गर्न असमर्थ रहेको कम्पनीको तर्फबाट रेखदेखमा खटिनुभएका दीपनारायण महतोले बताउनुभयाे । निर्माणका क्रममा कहीँ कतै काममा समस्या हुन गएकाले मापदण्डअनुसारको काम गर्न नसकेको उहाँकाे भनाइ छ । 

यस सम्बन्धमा सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनियर ध्रुवनारायण पाण्डेले नियम विपरीत र गुणस्तरहीन हिसाबले गरिएकाे सडककाे कालाेपत्र मान्य नहुने बताउनुभयाे । हातले नै कालाेपत्र उप्किएपछि स्थानीयवासीले रोकेको खबर पाएका छौँ । गुणस्तरहीन हिसाबले काम भइरहेकाे पाइए फेरि कालेपत्र गर्नुपर्ने उहाँले बताउनुभयाे । 

सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाख रुपैयाँको लागतमा यस सडक निर्माणकाे काम गर्न सर्लाहीकाे तिरुपति बालाजी कन्स्ट्रकशनले ठेक्का पाएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया