कर्णालीका चार सांसदलाई माधव नेपालकाे आश्वासन : उपचुनाव भए जिताउने जिम्मा मेराे हुनेछ

 साउन २६, २०७८ मंगलबार १८:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेतालाई फेरि जिताएर ल्याउने आश्वासन गर्नुभएको छ ।

मङ्गलवार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबीबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएकाे सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कर्णालीका आफू पक्षीय सांसदले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपचुनाव भए उनीहरूलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताउनुभयो । 

उहाँले कर्णालीका नेताहरूको साथमा आफू रहेको भन्दै दृढताका साथ अगाडि बढ्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो । उहाँहरूको प्रदेश सभाको सदस्यता धरापमा छ । र मैले भनिसकेको छु, तपाईँहरुको सदस्यता धरापमा छ भने, यदि तपाईँहरूकाे सदस्यता खारेज भयो भने अनि उपचुनाव भयो भने तपाईँहरूलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाईँहरू दृढताका साथ अगाडि बढ्नुस् । हामी साथमा छौँ ।’

वरिष्ठ नेता नेपालले आफूहरू कसैको सामु शिर नहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पार्नुभयो । आफूहरू दृढताका साथ अगाडि बढ्ने उहाँको भनाइ छ ।

नेता नेपालले दम्भ र अहङ्कारका साथ गलत ढङ्गले चल्नेहरूलाई चुनौती दिएर आफूहरू अगाडि बढ्ने बताउनुभयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया