प्रधानमन्त्री देउवाद्वारा बाढी पहिराे प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्न निर्देशन

 साउन २७, २०७८ बुधबार ७:१:५३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा मंगलबार उहाँले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका पुलहरुका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

यस्ता पुलहरु सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोड्युलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं परिषद्का सदस्यसचिव अनिल पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा बाढीपहिरो र प्राकृतिक विपद्बाट ठूलो क्षति भएको परिस्थितिको समीक्षा गरिनाका साथै मनसुन बाँकी नै रहेको अवस्थामा तीनै तहका सरकार र सबै सुरक्षा निकायको समन्वयमा राहत, उद्धार र खाद्यान्न वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाले निर्देशन दिनुभएको छ ।

मेलम्ची क्षेत्रमा गेगरानसहितको ठूलो पहिराले भएको क्षति सम्बन्धमा विश्वमा भएका सबै ज्ञान र सीपको प्रयोग गरेर निराकरणको उपाय पहिल्याउने बारेमा समेत छलफल भएको सदस्यसचिव पोखरेलले बताउनुभयो । प्रधानमन्त्री देउवाले प्राधिकरणलाई सशक्त बनाउन संस्थागत सुदृढीकरणका लागि ओ एन्ड एम सर्भे गर्न तथा गृह मन्त्रालयले हाल परिचालन गरिरहेको विपद् कोषलाई नियमावली बनाएर विपद् जोखिममा तत्काल गर्नुपर्ने कामका लागि प्राधिकरणलाई हस्तान्तरण गर्नसमेत निर्देशन दिनुभएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा सम्पन्न परिषद्को बैठकमा सबै मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, चारै सुरक्षा निकायका प्रमुख उपस्थित हुनुहुन्थ्यो भने सातै प्रदेशका मुख्यमन्त्री कार्यालय जुममार्फत जोडिएका थिए ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया