पप्पु कन्स्ट्रक्शनकाे लापर्बाहीका कारण अलपत्र तीनकुने पुल नयाँ 'डिजाइन' मा बनाइने

 साउन २९, २०७८ शुक्रबार १७:३२:२४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – झन्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्शन प्रालीको लापर्बाहीका कारण अलपत्र बनेको थियो । 

पप्पु कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाण्डाै उपत्यका सडक विस्तार योजनाले जनाएको छ । याे कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो । 

सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारमा रहेकाे पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारकाे धोबी खोला पुल दुई वर्षअघि नै सम्पन्न भएर सञ्चालनमा छ । तीनकुने पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनर्निर्माण सुरु गर्न परेको योजनाले जनाएको छ । 

पहिलेको कम्पनीले बनाएको संरचनामध्ये एउटा फाउन्डेशन स्वीकार गरेर बाँकी सबै भत्काएर नयाँ ठेक्कामार्फत निर्माण हुने योजनाले जनाएको छ । नयाँ डिजाइन र नयाँ वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर निर्माण अघि बढाउन लागिएको योजनाका सूचना अधिकारी अशोक यादवले बताउनुभयो । उहाँका अनुसार पहिले जसरी नै अहिले पनि निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी (डिजाइन एन्ड बिल्ड) मार्फत निर्माण अघि बढाउन लागिएको हो । याे पुल डिजाइन र निर्माण गरी झन्डै ४२ महिना लाग्ने उहाँले बताउनुभयो । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत् लगायतका संरचना हटाउन समय लागे पनि अहिले त्यो समस्या हटिसकेको छ । उहाँले भन्नुभयो, निर्माणस्थल खाली नै भएकाले व्यवसायीले सरासर काम गर्न सक्नेछ ।

दुई हप्ता पहिले बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता हुन प्रक्रियामा नै झन्डै दुई महिना लाग्ने योजनाले जनाएको छ । यसअघि पप्पु कन्सट्रक्शनसँग २१ करोड रुपैयाँमा ठेक्का भएको थियो । अहिले ठेक्का आह्वान भएकाले कति रकममा कबुल हुन्छ त्यसैका आधारमा यसको बजेट थाहा हुने उहाँले बताउनुभयो । 

योजनाले पहिलेको कम्पनीले बनाएको संरचना सबै मान्यता नदिएको र भत्काउने निर्णय गरेको सूचना अधिकारी यादवले बताउनुभयो । कम्पनीले दुई ‘फाउन्डेशन स्ट्रक्चर’ बनाएकामा एउटा काम लाग्ने भएकाले स्वीकार गरिएको र अर्काे भत्काउने निर्णय गरेको थियो । 

यसअघि कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झन्डै एक वर्ष लागेको छ । कम्पनीले प्राविधिक नभइ काम गर्ने ढलानलगायत निर्माणको काम गरेको सूचना अधिकारी यादवले बताउनुभयो । उन्तीस मिटर पाइल राख्नुपर्नेमा २५ मिटर राखेकाले सच्याउनभन्दा पनि कम्पनीले मानेको थिएन । पप्पुको स्वीकार भएको संरचनाको भुक्तानी भइसकेको उहाँले बताउनुभयो । त्यसबाहेक भत्काउनुपर्ने संरचनाको रकमसमेत निर्माण व्यवसायीबाट नै असुल गर्ने नियम छ । उहाँले भन्नुभयो, कति रकम असुल गर्नुपर्ने हो भनी यकिन गरेर चिठी लेखिनेछ । 

यसअघि निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । प्रतिनिधि सभाकाे विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न नसकेको सूचना अधिकारी यादवले बताउनुभयो । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । उहाँले भन्नुभयो, अहिले पनि कम्पनी कालोसूचीमा नै रहेको छ ।

यसअघि पनि पुल निर्माण कम्पनी आफैँले डिजाइन गर्ने (डिजाइन एन्ड बिल्ड) गरी भएको सम्झौता भएकामा अहिले फेरि त्यही प्रक्रियाबाट निर्माणमा जान लागिएको हो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजनाले जनाएको छ । नयाँ ठेक्कामा जाँदा पनि फेरि डिजाइन गर्नुपर्ने भएकाले साढे तीन वर्ष लाग्ने सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।  

सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । कार्य सम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको छ । आवश्यक रकम पेस्की पहिले कम्पनीलाई उपलब्ध गराइएकामा त्यो पनि फिर्ता भइसकेको छ । 

यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गएकाे आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले याे कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले काठमाण्डाैकाे व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहर सुन्दरता बढाउन भन्दै ‘आर्स एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो । मुख्य सडकका दायाँ–बायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बिजुली बजारकाे पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढ्न सकेको थिएन । 

नेपालमा नयाँ प्रविधिबाट याे पुल निर्माण गरिने गरी सम्झौता गरिएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । अरू पुलको तुलनामा यसको अवधि लामो हुने विभागले जनाएको छ । 

काठमाण्डाै उपत्यकाको सवारी चाप बढी रहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले ६ लेनमा सडक विस्तार भएको थियो । सडक विस्तार भए पनि त्यहाँ पर्ने धोबी खोला र वाग्मती पुल साँघुरो भएकाले सवारी चाप कम नभएको भन्दै विभागले मुख्य पुलको दुवैतर्फ पुल निर्माणको योजना अघि सारेको हो । 

अन्तिम अपडेट: जेठ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया