नयाँ बसपार्कको ‘टिकट काउन्टर’ अब कम्युटर प्रणालीमा

 साउन ३१, २०७८ आइतबार १०:३४:१७ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ - हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । 

काठमाण्डौ  महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भइ २०५६ सालदेखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरि बस टिकट काट्न सुरु गरिएको हो ।

नयाँ बसपार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउन्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरि सञ्चालनमा ल्याइएको हो ।

टिकट काउन्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पोसाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन् । 

कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ । नयाँ बसपार्कबाट अहिले ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ टिकट काउन्टरले अहिले कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् । 

ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको हो । बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा यो सेवा सञ्चालन गरेको हो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया