धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
चितवन – कुखुराको सुलीबाट ६२ केभीएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फार्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुवात गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिएको छ । उहाँका अनुसार सुलीबाट मासिक एक लाख रुपैयाँ हाराहारीको विद्युत् उत्पादन भएको छ ।
खैरहनी नगरपालिका १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालीमा जडित बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभीएको जेनेरेटर ग्यासबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यक पर्ने विद्युत् यहीबाट उत्पादन भएको छ । फार्मका सञ्चालक अर्यालका अनुसार सुरुमा १२ लाख रुपैयाँ खर्च गरेर ग्यास उत्पादन थालिएको हो । यसको प्रभावकारिता राम्रो देखिएपछि एक करोड ६५ लाख रुपैयाँ खर्च गरेर अत्याधुनिक सीएसटीआर प्रविधिअन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्यास उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत ५२ लाख रुपैयाँ अनुदानसमेत दिएको उहाँको भनाइ छ ।
सुलीबाट ग्यास उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उहाँ यसप्रति आकर्षित हुनुभएको हो । यससँगै इन्धन बचाउने काममा ग्यास प्रभावकारी भएको छ । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्यास उत्पादन गर्ने तयारी उहाँको छ ।
फार्म सञ्चालनका अर्यालका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ । यो परियोजना सम्पन्न हुँदै गर्दा दुई लाख १५ हजार कुखुरालाई आवश्यक पर्ने सम्पूर्ण इन्धन ग्यासबाट पूरा हुनेछ । यसका लागि झन्डै १२ करोड रुपैयाँ खर्च हुनेछ । यसमध्ये चार करोड रुपैयाँ विश्व बैंकले अनुदान दिने उहाँको भनाइ छ । यसबाट २५० केभीएको जेनेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उहाँले बताउनुभयो ।
अहिले खोरमा एक लाख कुखुरा छन् । केही महिनाभित्रमा दुई लाख १५ हजार पुर्याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भित्र्याउने अर्याल सरकारको जागिर छाडेर यो पेसामा लाग्नुभएको हो । विसं २००८ असार ११ गते काठमाण्डाैकाे ज्याठामा जन्मिनुभएका उहाँले अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । बुबा अदालतमा जागिर गर्ने हुँदा उहाँले देशका विभिन्न जिल्लामा रहेका जेपी हाईस्कूल, भुटनदेवी हाईस्कूल, ठाकुरराम क्याम्पस, त्रिचन्द्र कलेज, शङ्करदेव क्याम्पसलगायतमा अध्ययन गर्नुभएको हो ।
अठार वर्ष नेपाल बैंकमा जागिरपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्याललाई विसं २०५० मा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा नियुक्त गरेसँगै उहाँ राजनीतिक नियुक्तितर्फ लाग्नुभएको थियो । लमजुङका नेपाली कांग्रेसका नेता श्रीकान्त अधिकारी र उदयनाथ अधिकारी लगायतको नाता सम्बन्धका कारण राजनीतिमा प्रवेश गर्नुभएका उहाँ निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय थाल्नुभएको हो ।
उहाँकी बहिनी डिना उपाध्याय अहिले पनि कांग्रेसकी केन्द्रीय नेता हुनुहुन्छ । विसं २०५२ मा चितवन झरेर उहाँले कुखुरापालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँका श्रीमती सुमा अर्यालले जनकपुर चुरोट कारखानाको अधिकृतको जागिर छोडेर यो पेसा अङ्गाल्नुभएको हो ।
अध्ययनका कारण उहाँहरूले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गर्नुभएको हो । त्याे ठाउँमा दुई बिघा १० कठ्ठा जग्गा खरिद गरेर उहाँले अटोमेटिक केजमार्फत व्यवसाय सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, नेपालमा हामीले पहिलो पटक आटोमेटिक केज भित्र्याएका हौँ । उहाँहरूको क्लोज हाउसमा कटनले बारिएको छ भने पूर्णरूपमा क्लोज हाउस विकास गरिने जनाइएको छ ।
उहाँले सुरुमा ६० हजार कुखुरापालनबाट पेसा थाल्नुभएको हो । केजमा उत्पादन भएको अण्डा ठूलो र आकर्षक हुने हुँदा याे अण्डाको माग राम्रो छ । भविष्यमा यस पेसालाई आधुनिक बनाउने उहाँको योजना छ । सत्तरी वर्षकाे उमेरमा पनि युवाहरूसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल उहाँ पोल्ट्री क्षेत्रमा नेपालमा चिनिएका व्यक्ति हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, खेर जाने सुलीलाई उपयोग गर्न सक्यौँ भने कसैका खोरमा विद्युत् किन्नु पर्दैन । यसो त बायोग्यास बनाउनुअघि गन्धका कारण स्थानीयवासीले समय–समयमा विरोध गर्दै आएकामा अहिले खोरभित्रमात्रै होइन, बायोग्यासपछि निस्किएको मलमा पनि गन्ध आउँदैन । यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्बर मानिन्छ । यद्यपि उहाँले खोर वरिपरि अग्लो बार र हरियाली बनाउनुभएको छ । उहाँको फार्म पुग्दा जोकोहीलाई तारे होटल पुगे जस्तो भान हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।