प्रयोगमा नआउँदा तालिम केन्द्र बन्यो ‘चर्पी, भट्टी र नशा सेवन केन्द्र’

 भदौ १, २०७८ मंगलबार २०:२९:४५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – नगरपालिकास्तरीय तालिम केन्द्रका लागि लाखाैँ बजेट खर्चेर बनाइएको दुई सरकारी भवन उपयोग नहुँदा शौचालय, भट्टी र नशा सेवन गर्ने थलोका रूपमा दुरुपयोग हुन थालेको छ । 

आठबीसकोट नगरपालिका वडा - १० मैडाँडामा रहेकाे नगरपालिकास्तरीय तालिम केन्द्रका दुई वटा भवन निर्माण सम्पन्न भएको तीन वर्षसम्म प्रयोग नहुँदा दुरुपयोग हुन थालेको हो । झन्डै २० लाख रुपैयाँ खर्चेर बनाइएका ६ कोठे दुई वटा भवनमा अहिले गोठालो जानेहरूको ओत लाग्ने ठाउँ बन्नुका साथै चर्पीका रूपमा प्रयोग हुन थालेको छ । कतिपयले लुकेर रक्सी तथा गाँजा सेवन गर्ने गरेकाे स्थानीयवासीले बताएका छन् । 

त्यहीँका युवा अभिशेष केसीले सरकारी सम्पतिको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । उहाँले भवन निर्माण रकम दुरुपयोग गर्नलाई बनाएको हो ? भन्ने प्रश्न गर्दै निर्माण भएको भवन प्रयाेगमा नआउँदा चारैतिरबाट तोडफोड हुन थालेको समेत जनाउनुभयो । 

अर्का स्थानीयवासी गोविन्द शाहीले लाखौँ रकम खर्चेर तालिम केन्द्रको नाममा बनाइएको भवन प्रयोग नहुँदै भत्किँदै जानेमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले तालिम केन्द्रकाे रूपमा त्यस भवनको प्रयोग नभएको भन्दै अहिले लुकामारी खेल्ने, अवैध काम गर्ने काममा दुरुपयोग हुँदै गएको बताउनुभयो । उहाँले प्रत्यक्ष आँखाले देखिएका सार्वजनिक भवन यसरी दुरुपयोग हुँदै जाँदा पनि पालिकाले सदुपयोग गर्न चासो नदेखाएको गुनासो गर्नुभयो । 

यस विषयमा आठबीसकोट नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गंगाराम चनाराले तीन वर्ष पहिले नगरस्तरीय तालिम केन्द्रको नाममा बनाइएको भवन प्रयोगविहीन भएको उल्लेख गर्नुभयो ।

‘भवन वडाको पायक पर्ने ठाउँमा भएन, अपायक ठाउँमा हुँदा वडास्तरका कार्यक्रम गर्न पनि असहज भएको छ’, उहाँले भन्नुभयो, ‘यसको सदुपयोग गर्नेबारे नगरपालिकामा पनि पहल गरिनेछ ।’ वडाध्यक्ष चनाराले विभिन्न तालिमको प्रयोजनका लागि नगरपालिकाको बजेटबाट बनाइएको भवन यसै वर्ष तारबार गरेर दुरुपयोग हुनबाट जोगाइने आश्वासन दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया