राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

 भदौ २, २०७८ बुधबार १३:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा याे अध्यादेश जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले याे अध्यादेश जारी गर्नुभएको उल्लेख छ । 

दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले हिजो मङ्गलवार अध्यादेश सिफारिस गरेको थियो । राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत प्रतिनिधित्व हुने गरी मात्रै दल विभाजन गर्न पाउने व्यवस्था रहेकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

अध्यादेश सिफारिस भएदेखि नै सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले विरोध गर्दै आएका छन् । 

अध्यादेशबाट एमालेको माधवकुमार नेपाललाई दल विभाजन गरेर अर्को दल गठन गर्न सजिलो हुने बताइए पनि तत्काल माध्व नेपाल समूहलाई सङ्ख्या पुग्ने देखिँदैन । एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीमा दुई सय तीन जना छन् ।  नयाँ अध्यादेशअनुसार दल विभाजन गर्न नेपाल समूहलाई ४० भन्दा बढी केन्द्रीय सदस्य चाहिन्छ ।

यस्तै एमालेको सङ्घीय संसदीय दलमा एक सय ५१ सांसद छन् । त्यसको २० प्रतिशत ३१ सांसद चाहिन्छ । अहिलेसम्म यो नेपाल समूहमा देखिँदैन । अध्यादेशले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई भने पार्टी फुटाउन सजिलो भएको छ । ३२ सदस्यीय संसदीय दलको २० प्रतिशत अर्थात् सात जना सांसद जुटाएर ठाकुर पक्षले नयाँ दल दर्ता गर्न सक्छ । यो सङ्ख्या उनीहरूसँग छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया