काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – पानीका लागि बोरिङ खन्ने क्रममा काठमाण्डाैकाे बूढानीलकण्ठ नगरपालिका–१० कपनमा एक्कासी बालुवासहित पानीको फोहोरा निस्किएको छ । तीन घण्टादेखि पानी र बालुवासहितको झन्डै ४० फिट अग्लो फोहोरा काठमाण्डौ कपन शिवमन्दिर नजिक निरन्तर छ ।
भुलुक–भुलुक गर्दै चार तले घर जति अग्लो पानीको फोहोरा निस्किएपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरूले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।
सूचनापछि घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिनुभयो । 'काठमाण्डाै उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो', श्रेष्ठले भन्नुभयो ।
त्रसित स्थानीयवासीको प्रतिक्रियामा उहाँले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताउनुभयो । कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आकलन गर्न नसकिने जनाउनुभयो ।
घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताउनुभयो । 'सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ', उहाँले भन्नुभयो । झन्डै एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उहाँको भनाइ छ ।
फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ । अनौठो फोहोरा हेर्न मानिसको भिड बढ्दै गएपछि यतिखेर प्रहरीले भीडभाड नगर्न माइकिङ गरिरहेको छ ।
कपन प्रहरी चौकी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिनुभयो । साथै कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।