‘कतैबाट पनि पार्टी एकता सम्भव नहुने अवस्था आएपछि नयाँ दल दर्ताका लागि निवेदन दियाैँ’

 भदौ २, २०७८ बुधबार १९:१९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । वरिष्ठ नेता माधव नेपालसहितका नेताहरू बुधवार कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएका हुन् । 

पार्टी एकताका लागि पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि ५८ जना केन्द्रीय सदस्यको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) नाम गरेको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले एमालेमा अलमल गरेर बसेका अन्य नेता, कार्यकर्तालाई नयाँ पार्टीमा आउन पनि आह्वान गर्नुभयो ।

नेता पाण्डेले भन्नुभयो, ‘राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भइसकेपछि नेकपा एमालेका हामी ५८ जना केन्द्रीय सदस्य उपस्थित भएर बैठक बस्यौँ र नयाँ दल दर्ताकाे निर्णय गर्‍याैँ । नेकपा एमालेभित्र केपी शर्मा ओलीकाे व्यवहार, संसद्लाई पटक–पटक भङ्ग गर्ने र त्यो भङ्ग गरेको कुरालाई गलत नठान्ने, संसद्को रक्षा र संविधानको रक्षाका निम्ति पटक–पटक आवाज उठायौँ । प्रयत्न गर्‍याैँ तर त्यो कतैबाट पनि सम्भव नहुने स्थिति बनेपछि आज हामीले नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएका छौँ ।’

नवगठित यस दलको अध्यक्ष माधवकुमार नेपाल रहनुभएको छ भने वरिष्ठ नेता झलनाथ खनाल रहनुभएको छ । ९५ सदस्यीय केन्द्रीय समिति रहेको यस दलको चुनाव चिह्न भने थप छलफल गरेर मात्रै टुङ्गो लगाउने निर्णय गरिएको पनि पार्टीका नेता पाण्डेले बताउनुभयो ।

नवगठित नेकपा एमाले (समाजवादी) पार्टीले दल दर्ताको प्रमाण पत्र निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीको राष्ट्रिय भेला बोलाइ आफ्ना कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया