काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - लामो समयदेखि काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि फेरि समस्या भएको छ । गएकाे सोमवार नै काठमाण्डाै महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो ।
महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ । 'विगत चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन, वर्षाको समय भएकाले अन्य समयमा भन्दा बढी फोहर उत्पादन हुने गर्दछ, सकेसम्म कम फोहर निकाल्ने र त्यसलाई बाहिर सडकमा नभइ घरमा नै व्यवस्थापन गर्न नागरिकलाई अनुरोध गर्दछु', महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो ।
उहाँका अनुसार सिसडोल भरिएको र तत्कालका लागि केही व्यवस्थापन गर्ने प्रयास भइरहेको भए पनि अझै केही दिन लाग्छ । निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहरको थुप्रो व्यवस्थापन गर्न केही असहज भएको उहाँले बताउनुभयो ।
महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ।
सामान्य समयमा हरेक दिन २ सय गाडीले फोहर व्यवस्थापन गर्दै आएका थिए । अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने महानगरले जनाएको छ ।
यसरी निरन्तर फोहर नउठ्दा काठमाण्डाैका सडक किनारामा जताततै फोहर हुँदा दुर्गन्ध फैलिएको छ । महानगरले दुई वर्षका लागि भन्दै झण्डै १३ वर्षदेखि काठमाण्डाै उपत्यकाका १८ पालिकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ मा रहेकाे सिसडोलमा रहेको ल्याण्डफिल साइटमा विसर्जन गर्दै आएको छ ।
अहिले फोहर विसर्जन भएको ठाउँभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो ।
बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम समयमा नै नसकिँदा पनि समय–समयमा फोहर व्यवस्थापनमा समस्या आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।