व्यङ्ग्य - घरघरमा नेता, टोल–टोलमा दल ! जताततै समाजवाद, लोकतन्त्रको फल !!

 भदौ ५, २०७८ शनिबार ९:४२:२५ | मिलन तिमिल्सिना
unn.prixa.net

ओली सरकारले त जाबो दल फुटाउने अध्यादेश पनि ल्याउन सकेन । अरुको दल फुटाएर आफ्नो बल पुर्याउने झिँगे दाउ हान्न नसकेर ओलीले अध्यादेश फिर्ता गरे । दल फोर्ने अध्यादेश छाडेर संविधानका धाराको पानी धमिल्याउने बाटो लागे । सामान्य विरोध र आक्रोशलाई थाम्न नसकेर प्रतिगामी कहलिएको ओली सरकारले गर्न नसकेको यति झिनो कार्य अग्रगामी कहलिएको देउवा सरकारले क्षणभरमै गरेर देखाइदियो । संसदले गर्ने काम रोक्न ओलीले मध्यरातमा अघि सर्थे । देउवाले त्यस्तो काम दिउँसै रात पारेर गरिदिए । संसदको बाटो भन्दा अध्यादेशकै बाटो ठिक हो भन्ने ओलीटिक्सलाई देउवा सरकारले पनि पुष्टि गर्यो । जनादेश र परमादेशलाई समेत माथ खुवाउनेगरि आएको अध्यादेशबाटै अब दल मात्रै होइन देश नै चल्न सक्छ भन्ने प्रमाणित भइसकेको छ ।

केही दिनदेखि निर्वाचन आयोग क्यापिटल कम्पनी जस्तो भएको छ । शेयर कारोबार गर्न चाहने मानिस मर्चेन्ट बैँक धाए झैँ नेता र कार्यकर्ता खाता खोल्न निर्वाचन आयोग धाउँछन् । तर आयोग आयो र गयोको हिसाब मात्रै राख्छ, खाता खोल्दैन । तै पनि राजनीतिमा बुढाहरुले कमाएको शेयरको डिभिडेण्ड र बोनस खान तन्नेरी नेता र नेतृले बुढाहरुलाई निर्वाचन आयोगको भर्याङमा घिसारी राखेकै छन् । 

देउवाले ठूला दललाई दलदलमा पुर्याउने अध्यादेश ल्याइ दिएपछि निर्वाचन आयोगमा माधव नेपाल र महन्थ ठाकुरले डिम्याट खोल्ने निवेदन त दिए, तर खाता खुलेको छैन । निर्वाचन आयोगमा खाता खुले सिंहदरबारमा खादा ओढेर झण्डावाल गाडी चढ्न र आफ्नै घरको कुर्सीमा अध्यक्ष लेखेर बस्न पाइन्छ । यतिका लागि मात्रै पार्टी फुटाउनु थियो, माधव नेपाल र महन्थ ठाकुरले फुटाए । अब ताकेको कुर्सी नपाउने अरु नेताले पनि हिँड्ने बाटो यही हो । अर्को दललाई दलदलमा फसाउने देउवा र प्रचण्डले खनेको यो खाल्टोमा उनीहरु आफैँ पनि एक दिन त परि नै हाल्नेछन् । कुरा ढिलो र छिटोको न हो । कोरोनाले लगेन भने त्यो दिन रमिता पनि हेर्न पाइएला भन्ने आशा छ ।

त्यसपछि त पहिले पहिले सबै टोलमा बस्ने र आराम गर्ने पाटी बनेजस्तै टोलटोलमै भोज र मोज गर्न पुग्ने गरि पार्टीहरु थपिँदै जानेछन् । टोलटोलमा दल भएपछि घरघरमा नेता जन्मने नै भए । घरघरमा नेता जन्मनु भनेको सबै नागरिक सम्पन्न र शक्तिशाली बन्नु हो । गरिबी र बेरोजगारी सधैंका लागि अन्त्य हुनु हो । हरेक नागरिकलाई नेता बनाएर देशमा बेरोजगारी र गरिबी सधैंको लागि अन्त्य गर्ने महाअभियानमा साथ दिनु तपाईं हाम्रो पनि कर्तव्य हो । त्यसैले, कुनै दलमा हुनुहुन्छ भने अहिले २० प्रतिशत जम्मा गरेर डिम्याट खाता खोल्न निर्वाचन आयोग जाने तयारी गर्नोस्, तपाईँले २० प्रतिशत पुर्याएपछि त्यसबाट फेरि अर्को २० प्रतिशत पुर्याउने जिम्मा अर्कोले लिनेछ । अन्तमा ५ जना बाँकी रहेपछि त्यसको २० प्रतिशतबाट म पनि अध्यक्ष भएर पल्लो घरको अध्यक्षसित शिखर वार्ता गर्ने धोको पालेर बसेको छु । देउवाले नेपाली समाजलाई लगाएको यो ठूलो गुन हो, किनकि यसबाट देशले घरमा घरमा दल र अध्यक्ष जन्माउनेछ । दल र अध्यक्ष घरमै भएपछि हरेक घरका सपना पूरा हुनेछन्, देश थाहै नपाइ पूर्वको सिङ्गापुर र पश्चिमको स्विट्जरल्यान्ड हुनेछ ।   

तर यो महाअभियानमा साथ दिन सबैले नामको पछिल्तिर समाजवादी झुन्ड्याउनुपर्छ । माधव र महन्थले त समाजवादको महाअभियानमा इँटा थपिसके । उपेन्द्र यादवसँग हुँदा नै महन्थ ठाकुर समाजवादी थिए । अब लोकतान्त्रिक समेत झुन्ड्याएर थप समाजवादी हुँदै छन् । पहिले ओलीसँग हुँदा मार्क्सवादी लेनिनवादी मात्रै भएका माधव नेपालले अब समाजवादी झुन्ड्याएका छन् । एमाले नाम छाडेर पनि समाजवादी नाम जसरी पनि झुण्ड्याउने उनको धोको पूरा हुने चरणमा छ ।

नामअनुसार त माधव नेपालले नेमाले अर्थात नेपाल मार्क्सवादी लेनिनवादी राख्नुपर्ने हो । ओलीले एमालेको ‘ए’लाई संशोधन गरेर ‘ओ’ थप्दै ओमाले अर्थात ओली मार्क्सवादी लेनिनवादी भन्नुपर्ने हो । तर देशमा समाजवाद ल्याउनु छ । काम गरेर समाजवाद आउँदैन । समाजवाद ल्याउन त गफ गर्नुपर्छ, नाम राख्नुपर्छ । 

घरघरमा नेता र टोलटोलमा दल जन्माएर देशलाई समाजवादको दिशामा अघि बढाउन दलका नाम र चुनाव चिह्न पनि सुहाउँदिलो हुनुपर्छ । नेताका स्वभाव र अवस्थाअनुसारको नाम भयो भने साँच्चै समाजवाद देख्न पाइन्छ । समाजमा समाजवाद ल्याउन कुन नेतालाई कुन नाम र चुनाव चिह्न सुहाउला त ? 

माधव नेपाल : 

दलको नाम : नेकपा नेमाले ढुलमुल समाजवादी
चुनाव चिह्न : कमण्डलु

महन्थ ठाकुर : 

दलको नाम : जनताले नपत्याउने समाजवादी (लरबरतन्त्र)
चुनाव चिह्न : पुजारी

बाबुराम भट्टराई :

दलको नाम : नटबल्टु खुस्किएको पुरानो शक्ति समाजवादी
चुनाव चिह्न : डाइनोसर

रामचन्द्र पौडेल : 

दलको नाम : १७ पटक उत्तानोटाङ समाजवादी
चुनाव चिह्न : भत्केको कुर्सी

वामदेव गौतम :

दलको नाम : अगुल्टोले हानेको कुर्सी बिजुली चम्कँदा तर्सन्छ समाजवादी
चुनाव चिह्न : जेब्राक्रसिङ

केपी शर्मा ओली : 

दलको नाम : मै हुँ ओमाले समाजवादी
चुनाव चिह्न : उखानले भरिएको पुस्तक

पुष्पकमल दाहाल प्रचण्ड : 

दलको नाम : अरुको दल भत्काउ, मने छोरी बुहारीले मात्रै कमाउ समाजवादी
चुनाव चिह्न : ढाडमाथिको टाउको फोर्दै गरेको हम्मर

उपेन्द्र यादव :

दलको नाम : हेलो काम्रेड जयनेपाल समाजवादी
चुनाव चिह्न : भर्याङ

राजेन्द्र महतो :

दलको नाम : हमरा मधेश जय मधेश हामवादी खामवादी समाजवादी
चुनाव चिह्न : हिन्दी सायरी लेखिएको पुस्तक

कमल थापा :

दलको नाम : पाए राजा आउ, नपाए साझा आउ समाजवादी
चुनाव चिह्न : पेच फुस्किएको श्रीपेच

यसैगरि अरु नेताहरुले पनि आफ्नो साइज र सनक अनुसारको नाम राखेर समाजवादी दल गठन गर्न सक्छन् । सबै दलको पछिल्तिर समाजवादी झुन्डिएपछि समाज रुपान्तरण हुन्छ । तर समाज रुपान्तरण हुनुअघि तपाईँ हामी रुपान्तरण हुनुपर्छ । 

समाजवादले खोजेको दिशामा अघि बढ्नुपर्छ । त्यसअनुसार रुपान्तरण भएर अघि बढ्न तपाईँ र म पनि कसैलाई चोइट्याएर २० प्रतिशतको अध्यक्ष हुनुपर्छ र हामी दुवैले नामको पछि समाजवादको ट्याग झुन्ड्याउनुपर्छ । त्यसैले मैले थर फेरेर नामको पछिल्तिर समाजवादी झुन्ड्याउने निर्णय गरें । तपाईँ पनि गरिहाल्नुहोस्, त्यसपछि हामी दुवै अध्यक्ष हुनेछौँ ।

अध्यक्ष भएपछि नहुने के छ र ? केही भएन भने युट्यबरहरुलाई भेला पारेर हामी दुई नजिकैको डाँडो चढौँला । अनि डाँडाको टुप्पामा अग्ला कुर्सी राखि एउटा भव्य शिखर वार्ता गरौँला ! 

अन्तिम अपडेट: चैत २९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया